‘भ्रमण वर्षको वैदेशिक प्रचार प्रसारमा खर्च गर्ने रकमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्छु’



२६ माघ २०७६, काठमाडौं

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत [CEO] धनञ्जय रेग्मीले ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित प्रचार-प्रसारलाई रोक्ने बताएका छन्।

आइतबार (आज) पर्यटन बोर्ड, काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत रेग्मीले भ्रमण बर्ष लक्षित वैदेशिक प्रचार-प्रसारले कर्मचारीको भत्तामा मात्रै खर्च हुने र त्यस्तो प्रचार-प्रसारले कुनै सकारात्मक प्रभाव नपार्ने बताउँदै यसलाई रोक्ने बताएका हुन्।

उनले त्यस्ता विदेश लक्षित प्रचार-प्रसार नगरी बचेको रकमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने बताए। “बोर्डले वैदेशिक प्रचार-प्रसारमा जाँदा दैनिक १५ डलर भत्ताबापत् कर्मचारीलाई खर्च गराउँदै आएको छ।” उनले भने, ‘अबको दिनमा मैले त्यस्तो खर्च गर्न गर्दिन। त्यो खर्चले आन्तरिक पर्यटकीय स्थलको प्रर्वद्धन गर्नेछु।’

यस्तै उनले अबको दिनमा सगरमाथा, लुम्बिनी, पोखरा, चितवनलगायतका पर्यटकीय स्थलहरुले मात्रै पर्यटकहरु आकर्षित नहुने बताउँदै  अन्य पर्यटकीय गन्तव्यको खोजी र ती गन्तव्यहरुमा पर्यटकीय स्तरका होटल तथा बासको व्यवस्था समेत गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्