सोलुखुम्बुको रेडियो साल्पाद्धारा २ दर्जन बढी स्ट्रेचर वितरण



२६ माघ २०७६, सोलुखुम्बु

रेडियो साल्पा [९२.२ मेगाहर्ज]ले विभिन्न विद्यालय तथा संघ सस्थाहरुलाई स्ट्रेचर वितरण गरेको छ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा सञ्चालित रेडियो साल्पाले आफ्नो सामाजिक अभियानअन्तर्गत विभिन्न दाताहरुबाट प्राप्त स्ट्रेचर एक कार्यक्रमबीच वितरण गरेको रेडियोका स्टेशन म्यानेजर जेपी थुलुङले जानकारी दिए।

उक्त स्ट्रेचर सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा रहेका विभिन्न २७ विद्यालय र संघ संस्थालाई प्रदान गरिएको हो।

हरेक दुर्गम गाउँ तथा टोलका नागरिकहरु स्वास्थ्य चौकीसम्म पुग्न सहज होस् भनेर उक्त स्ट्रेचर वितरण गरिएको ग्रामीण विकास समाज नेपाल तथा रेडियो साल्पा संचालक समितिका अध्यक्ष मनोजकुमार राई [भद्रगोल किराँती]ले बताए।

“सोलुखुम्बुमा अझै दुर्गम ठाउँसम्म सडक सञ्जाल जोडिएको छैन। त्यस्ता क्षेत्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म पुग्न उनीहरुको साथमा एउटा स्ट्रेचरसम्म पनि नहुन सक्छ।” अध्यक्ष किराँती हामीसँग भने, ‘त्यस्ता गाउँ तथा टोलका नागरिकहरुलाई स्वास्थ्य चौकीसम्म पुग्नको लागि सहज होस् भनेर हामीले स्ट्रेचर वितरण गरेका छौं।’

रेडियोद्वारा वितरित स्ट्रेचर। तस्वीर श्रोतः जेपी थुलुङ

जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीरकुमार राईको प्रमुख आतिथ्यता तथा सोताङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर राईको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सोलुखुम्बुस्थित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, संघ संस्था, सरोकारवाला, समाजसेवी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबैले रेडियो साल्पाले सञ्चालन गरेको सामाजिक अभियानको काम सम्मानयोग्य भएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्