थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सन्की सैनिकलाई गोली हानियो



२६ माघ २०७६, काठमाडौं

थाइल्यान्डको नाखोन रचासिमामा शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने सन्की सैनिकलाई सुरक्षाकर्मीले आइतबार हत्या गरेका छन्।

‘यो अवस्थाको अन्त्य गरेकोमा प्रहरी र सेनालाई धन्यवाद! सुटरलाई गोली हानी मारिएको छ।’ थाइल्याण्डका सार्वजनिक स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले फेसबूकमा लेखेका छन्।

आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो। एक सुरक्षाकर्मीका अनुसार प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको छ।

शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गोली प्रहार गर्दा २१ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए।

उनले आफ्नै कमान्डिङ अफिसरलाई मार्नुका साथै सैन्य शिविरबाट हतियार चोरेको बताइएको थियो।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्