सर्वोच्चले भन्यो, ‘छाउनीको जग्गामा प्रेरणाको दाबी पुग्दैन’



२४ माघ २०७६, काठमाडौं

सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै पुनः दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो। योसँगै छाउनीको जग्गा नेपाल ट्रष्टमातहत नै हुने भएको छ।

शुक्रबारको सुनुवाई सूचीमा प्रेरणाको रिट पहिलो नम्बरमा पेशी तोकिएको थियो। उक्त इजलाशमा राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह थिए।

राणा प्रधानन्यायाधीश हुने निश्चित भएको समयमा दुई पटक सर्वोच्चबाट फैसला भएर ‘फैसला कार्यान्वयन’मा गएको अवस्थामा प्रेरणाको रिट सर्वोच्च आएको थियो। सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो।

सोही जग्गाअन्तर्गत काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना आफ्नो दाबी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च पुगेकी थिइन्। उक्त मुद्दामाथि तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रेरणाले दाइजो पाएको ठहर गर्दै सो जग्गा उनकै नाममा हुने गरी २०७२ असोजमा फैसला गरेको थियो।

सो फैसला चित्त नबुझेपछि नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हाल्यो। अन्ततः सर्वोच्चले उक्त जग्गा नेपाल ट्रष्टकै नाममा हुने फैसला गर्यो । उक्त जग्गा पूर्वराजा वीरेन्द्रको नाममा रहेको भन्दै वीरेन्द्र र उनका परिवारको नाममा रहेका सबै सम्पत्तिको खोजी तथा रेखदेख गर्न गठित ट्रष्टको नाउँमा रहने फैसला भएको थियो।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो।

तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने दाबी गर्दै प्रेरणाले पुनः २०७५ पुस ६ गते रिट दायर गरेकी थिइन्। उक्त जग्गा नेपाल ट्रष्टलाई दिने सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै उनी फैसला पुनरावलोकनका लागि सर्वोच्च पुगेकी थिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालयलगायतलाई विपक्षी बनाई उनले निवदेन दर्ता गराइन्। उक्त निवेदनमा आफ्नो मौलिक हकको हनन् हुने गरी फैसला भएको उनको जिकिर थियो।

प्रतिक्रिया दिनुहोस्