चीनबाट ल्याइने नेपालीलाई यी ४ ठाउँमा राखिने, चीनलाई १ लाख मास्क पठाइदैँ



२४ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने जनाइएको छ। प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गरेका छन्।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ती निर्धारित कार्ययोजनाअनुरूप सम्पूर्ण तयारीमा जुट्न संवद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र संवद्ध मन्त्रालयका सचिव, सुरक्षा अधिकारी उपस्थित थिए।

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनका लागि पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्