कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन एनआरएनएको अपिल



२३ माघ २०७६, काठमाडौं

केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रेस विज्ञप्ती जारी गरेको छ ।

जारी प्रेस विज्ञप्तीमा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको कोरोना भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भईसकेको जानकारी गराईएको छ । साथै एनआरएनएले भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्ती र संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरी भाईरसबाट प्रभावित सबैमा सहानुभूति प्रकट गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्गसँगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको समेत जानकारी गराईएको छ । संघका अध्यक्ष कुमार पन्तले सक्दो सहयोगका लागि सम्बन्धित सबै पक्षलाई अपिल समेत गरेका छन् ।

संघको स्वास्थ्य सम्बन्धी समितिले कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको र भाईरसको प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको जानकारी गराएको छ ।

महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा समेत एनआरएनले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्