कोरोनासँग लडिरहेकी नर्सलाई छोरीले रूँदै भनिन्, ‘मलाई तपाईँको धेरै याद आउँछ’(भिडियोसहित)



२२ माघ २०७६, काठमाडौं

चीनमा दिन–प्रतिदिन कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ।

भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ।

चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका २० भन्दा बढी राष्ट्रमा देखा परेको छ।

चिनियाँ डाक्टर तथा नर्सहरू कयौं दिनदेखि परिवारसँग छुट्टिएर अस्पतालमा कोरोनाभाइरसका बिरामीको उपचार गर्दै आएका छन्।

यसैबिचमा अस्पतालमा कयौं दिनदेखि कोरोनाभाइरस संक्रमित बिरामीको उपचार गर्दै गरेकी नर्स आमा र उनकी छोरीको भेट हुन्छ।

परिवारबाट टाढा चीनको हेनान प्रान्तस्थित फुगोउ कान्टी पिपल्स अस्पतालमा नर्स लुई हैयान कोरोनाभाइरस संक्रमितको उपचार गर्दै आएकी छिन्। उनले आफ्नी नौ वर्षीय छोरी चेङ शिवेनलाई १० दिनदेखि भेट्न पाएकी थिइनन्।

जनवरी ३१ मा उनकी छोरी हातमा टिफिन बोकेर आमालाई भेट्न गइन्। तर उनले खानेकुरा भएको भाँडो आमाका हातमा थमाउन पाइनन्। न त नर्स आमाले छोरीको कपाल सुम्सुम्याउन सकिन्।

कोरोनाभाइरस सर्ला भन्ने डरले उनीहरूले केही मिटरको दूरी राखेर कुरा गरे।

टाढैबाट छारी भन्छिन्ः आमा मलाई तपाईंको धेरै याद आउँछ उत्तरमा आमाले पनि छोरीको याद धेरै आउने बताइन्।

एकछिनमा उनीहरूले सांकेतिक रूपमा हावामै एकले अर्कालाई अँगालो हाले।

छोरीले आमालाई चाडैँ घर फर्कन आग्रह गरिन्। जवाफमा आमाले राक्षस जस्तो भाइरसको अन्त्य गरेर मात्रै घर आउने बताइन्।

त्यसपछि छोरीले आफूले ल्याएको टिफिन छेउमा राखिन् र पछाडि सरिन्। आमाटिफिन लिएर फेरि अस्पताल छिरिन्।

प्रतिक्रिया दिनुहोस्