चखुन्चा खोलाको समस्या समाधान हुन्छ, सहयोग गर्न म प्रतिबद्ध छु : राजन भट्टराई



२३ माघ २०७६, काठमाडौं

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सरस्वतीनगरवासीहरुलाई चखुन्चा खोलाले अब सास्ती नदिने बताएका छन्।

बिहीबार (आज) सरस्वती सुधार संघको कार्यालय, सरस्वतीनगरमा ‘सरस्वतीनगर सुधार संघ’द्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दे सल्लाहकार भट्टराईले अब चखुन्चा खोलाबाट हुने सास्तीबाट सरस्वतीनगरवासीलाई छुटकारा मिल्ने बताएका हुन्।

“चखुन्चा खोलाबाट अब तपाईँहरुलाई समाधान मिल्छ। यसको समाधानको लागि मैले मेरो तर्फबाट सहयोग गर्न प्रतिबद्ध छु।” भट्टराईले भने, ‘यसको समाधान महानगरबाट पनि हुन सक्छ। महानगरबाट नभएको खण्डमा शहरी विकास मन्त्रालयबाटै भएपनि यसको समाधन गर्नैपर्ने हुन्छ।’

यस्तै उनले जता डुबे पनि डब्नेलाई पीडा भएको बताउँदै यसअघिको सानो पाइपको ठाउँमा ठूलो पाइप बिछ्याएर समस्याको समाधान गर्नुपर्ने बताए।

कार्यक्रममा प्रदेश सभा सांसद, स्थानीय जनप्रतिनिधिसँगै ठूलो संख्यामा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

सरस्वतीनगरवासीहरुको एउटै स्वरः डुबान समाधान होस्
सरस्वतीनगरवासीहरुले सबैको आफ्नो समस्या चखुन्चा खोलाले दिएको सास्ती भएको बताए।

विशेषगरीः वर्षायाममा घरभित्रै वर्षातको पानी पस्ने र साना–तिना घरहरुलाई अझ समस्या हुने भन्दै यसको समाधानको लागि ‘ठिक समयमा ठिक व्यक्ति’बाट हुनुपर्ने उनीहरुको भनाई थियो।

अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो समस्या राख्दै सरस्वतीनगरवासी विमलप्रसाद आचार्यले समस्याको समाधान यथाशक्य चाँडो हुनुपर्ने बताए।

“वर्षायाममा हाम्रो घर–घरमा पानी छिर्छ। झनै सानो घरलाई त अझ समस्या नै हुन्छ।” उनले भने, ‘यसको समाधान यहाँहरुले आफ्नै समस्या ठानेर गरिदिनुहुन्छ भन्ने लागेको छ।’

यस्तै अन्य सरस्वतीनगरवासीहरुले समस्या राख्दै आफ्नो समस्या छिट्टै समाधान हुनेमा विश्वस्त रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्