
२२ माघ २०७६, काठमाडौं
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छजना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ ।
यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहनुभएको बताइएको छ । मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ छ ।





