
२१ माघ २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले क्यान्सर रोगलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने बताएका छन् ।
विश्व अर्बुद रोग दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रावतले सातै प्रदेशमा क्यान्सर रोगको उपचारलाई बिस्तार गर्नुपर्ने बताए । क्यान्सर रोगलाइ जनतासामु जानकारीका लागी प्रचारप्रसारको काम स्थानीय तहले गर्नुपर्ने र चौमासिक रुपमा कार्यक्रम र समिक्षा गर्नुपर्ने जानकारी गराए ।
बजेट विनियोजन गरेर मात्र नहुने भन्दै राज्यमन्त्री रावतले बजेट सदुपयोग भए नभएको अनुगमन गर्नुपर्नेमा जोड दिए । बजेट खर्च मात्र गर्ने परिणाम केही नदेखिने, कार्यालयमा बसेर रिपोर्ट हेर्ने र त्यसैका आधारमा धारणा बनाउने कुरा गलत छ, बजेट बिनियोजित गर्ने कुराले मात्र अभियान सफल नहुने भन्दै मन्त्री रावतले अनुगमनमा कडाइ गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले क्यान्सर उपचार गरेपछि निको हुने रोग हो भन्ने कुरा समेत जनतालाई बुझाउन नसकिएको बताए । सरकारले खर्च गरेर पढाएका ९०५ डाक्टरहरु नेपालमा नबस्ने हुँदा सरकारको लगानी सदुपयोग हुन नसकेको समेत उनले जनाए ।





