नेपालमै बन्यो बाँदर, लोखर्के र न्याउरी मुसोको लागि पुल



२१ माघ २०७६, काठमाडौं

नेपालमै पहिलो पटक जंगली जनावरका लागि निर्माण गरिएको पुल प्रयोगमा आएको छ।

जनावरहरूले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले समाचार सम्प्रेषण गरेको छ।

अधिकारीहरूका अनुसार गत असोजमा राजमार्गमा पर्ने विभिन्न स्थानमा पुल निर्माण गरिएको हो। बाँके राष्ट्रिय निकुञ्जमा प्रयोगात्मक रूपमा ६ वटा यस्ता पुल बनाइएको छ।

खास गरी बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर नेपालमा पहिलो पटक बाँके राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसो लगायतका जनावरले प्रयोग गरिरहेको पाइएको उनीहरूको भनाई छ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ। त्यस्तै कोहलपुर देखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ। निकुञ्जमा राजमार्गको दुरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ।

क्यामरा सहित पाँच स्थानमा ६ वटा पुल राखिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुल क्रमिक रूपमा प्रयोगमा आउँदै छ।

“यो परीक्षणको लागि राखेका हौँ। छ महिनासम्म यसको अनुगमन गर्छौं।” शर्माले भने। ‘हालसम्म दुई पटक क्यामरा ट्रयाप मनिटरिङ गरिसकेका छौँ। त्यसमा मुगुवा क्षेत्रमा दुई वटा बाँदरले प्रयोग गरेको देखिएको छ भने क्यामरा ट्रयापमा ७ वटा बाँदर देखिएको छ।’

त्यस बाहेक उक्त पुल एउटा लोखर्केले प्रयोग गरेको र क्यामरा ट्रयापमा ८ वटा लोखर्के देखिएको उनले बताए। निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा २६४ जनावरको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्