कलाकारिता र समाजसेवाका पर्याय उत्कृष्ट चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई



nepali film industry

२१ माघ २०७६, काठमाडौं

करिव २५ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्रमा चरित्र अभिनेता तथा हास्यब्यङ्गय क्षेत्रमा लागि परिरहेका उद्धव प्रसाद भट्टराई यस बर्षको उत्कृष्ट चरित्र अभिनेता बिधाबाट सम्मानित भएका छन् ।

गत मंसिर २७ गते १३ डिसेम्बरको दिन दुबईमा सम्पन्न दोस्रो अन्तर्राट्रिय छायाँ छवि अनर अवार्ड २०७६ बाट भट्टराई उत्कृष्ट चरित्र अभिनेता बिधाबाट सम्मानित हुन् । त्यस्तै नेपाली चलचित्र ‘गाँजा बाजा’ बाट चरित्र अभिनेताको विधामा, जापानमा सम्पन्न Encouragement Award – 2019 र धनगढी कैलालीमा आयोजित PIM Nepal film festival – 2019 मा सम्मानित भएका थिए ।

श्री शिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजमा अध्यक्ष रहेका भट्टराई नेपाली चलचित्र कलाकार संघका सदस्य समेत हुन । गुडमर्निङ नेपालमा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका उनले  ( INAS) अर्थात, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको पनि सदस्यता लिएका छन् ।

विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका अति नै मिलनसार स्वभावका भट्टराईले नेपाली कथानक चलचित्रहरु ६ एकान ६, वडा नं. ६ , मालतीको भट्टी, श्रीमान श्रीमती, श्रीमान्, प्रहार, हाम्रो माया जुनी जुनीलाई, पहिलो पहिलो माया, आफ्नो मान्छे आफ्नै हुन्छ, लक्ष्य, बर्षात, ठमेल डट कम, गाजा बाजा लगायत झन्डै दुई दर्जन भन्दा बढी ठूलो पर्दाका चलचित्रहरुमा अभिनय गरेका छन् ।

झण्डै दुई दर्जन भन्दा बढि पारिवारिक तथा कमेडी टेली चलचित्रहरुमा अभिनय गरेका भट्टराईले चर्चित विज्ञापनहरु अन्नपुर्ण पोष्ट, पुजा साबुन, यामाहा बाईक, नटराज ज्वेलर्स, कलर्स मोवाईल, Ncell,  Ntc, Psi लगायत पेपर तथा होर्डिङ्ग विज्ञापन सहित झन्डै विभिन्न ब्राण्डका तीन दर्जन भन्दा बढि अभिनय गरिसकेका छन् ।

लेखन तथा निर्देशनमा समेत आफ्नो कला कौशलाता देखाउँदै आएका भट्टराईले बुद्ध दृष्टि फिल्मस् नामक प्रोडक्सन हाउस स्थापना गरी झण्डै चार दर्जन भन्दी बढी विज्ञापनहरु निर्माण गरिसकेका छन् ।

देश विदेशमा समेत ब्यस्त रहने उनले करिव आधा दर्जन देशको यात्रा गरि सकेका छन् भने हाल उनी विभिन्न नगरपालिकाहरुको डकुमेन्ट्री लेखन, निर्देशन, तथा छायाँकारको रुपमा ब्यस्त रहेका छन् । केहि बर्ष अघि ४२० को झड्का, कलह, जस्ता सिरियलहरु लेखन निर्देशन गरेका उनले अहिले ‘टेन्सन साफ’ सिरियल लेखन/निर्देशन गरिरहेका छन् ।

हाल ‘टेन्सन साफ’ नामक सिरियल युट्युब च्यानल सुलसुले टिभी मार्फत हरेक बुधबार प्रसारण भईहरेको छ । कला क्षेत्रमा मात्र नभई भट्टराई हाल गायन क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनले, ‘उडौँ भन्छ आकासैमा’ भन्ने कमेडी गीत समेत बजारमा ल्याएका छन् ।

नेपाली कला क्षेत्रमा अनवरत रुपमा विभिन्न विद्याबाट योगदान दिईरहेका उद्धव प्रसाद भट्टराईसँग परिवर्तन खबरकर्मीको कुराकानी :

विगत २५ बर्षदेखि कलाकारिता क्षेत्रमा हुनुहुन्छ ? कलाकारिता क्षेत्र कस्तो पाउनुभयो ?
हजुर ! मैले बि.सं. २०५५ सालदेखि कलाकारिता सुरु गेरेको हुँ । मैले यो क्षेत्रमा केही पाउनको लागि लागेको थिईन् रहरले लागको थिए तर अहिले आएर यो क्षेत्र मेरो लागि व्यवसायिक बन्न पुग्यो । यो क्षेत्रमा आफैंले केही गर्न सके बाँच्ने आधारहरु प्रशस्त रहेका छन् ।

प्रशस्त आधारहरु भन्नुभयो ? के–के हुन् ती भन्न मिल्छ ? नयाँ आउने पुस्तालाई सजिलो हुने थियो ।
कलाकारिता क्षेत्रमा लाग्नुभन्दा पहिला केही सिकेर, बुझेर म यो विधाबाट अगाडि बढ्छु भन्ने आधार बनाएर आउनु भयो भने पक्कै नयाँ पिढीलाई सफलता हात पर्छ । जस्तो लेखन, निर्देशन, गायन, अभिनय, संगीत, मोडलिङ लगायतका विद्याहरुलाई आधार बनाएर म एउटामा सफल हुन्छु भनी पोख्त भएर कलाकारिता क्षेत्रमा लाग्नुभयो भने पक्कै पनि सफल भईन्छ ।

भनेपछि तपाई सफल कलाकार कि व्यवसायिक ?
म सफल कलाकार त होइन तर मैले यो क्षेत्रलाई कलाकारिताका साथै व्यवसायिक बनाउने प्रयास गरेकाले म आफूलाई सफल भएको ठान्दछु ।

तपाई कलाकारिता सँगै विभिन्न संस्थासँग आवद्ध हुनुहुन्छ ? समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो एकदमै जटिल विषय हो । किनकी समय आफैं निस्किदैन यसलाई आफैंले व्यवस्थापन गर्ने हो । ‘जिम्मेवारी ठूलो कुरो हो’ यसका लागि म आफूले कुनैपनि पदमा अथवा संघसंस्थामा आवद्ध भईसकेपश्चात यो मेरो जिम्मेवारी हो र यसलाई पुरा गर्नुपर्छ भन्ने अठोट भएपछि समय मिलाउन सकिदो रहेछ ।

कलाकारिता र समाजसेवा मध्ये कुनै एक रोज्दा तपाई कुन रोज्नुहुन्छ ?
मेरो पहिलो प्राथमिकता कलाकारिता नै हो । यसबाट नै मैले जिविकोपार्जन गरिरहेको छु र घर परिवार चलाईरहेकै छु भने समाजसेवाबाट आत्मसन्तुष्टि पाईरहेको छु । यी दुवै मेरा लागि अभिन्न अंग जस्तै भइसकेका छन् । भविष्यमा विशुद्ध समाज सेवा गर्ने र राम्रो टिम सँग मिलेर नेपाली परिवेश सुहाउँदो पारिवारिक चलचित्र निर्माण गर्ने धोको छ । हेरौं के हुन्छ ।

अन्त्यमा, तपाई आफ्ना शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपाली चलचित्र सबैको मनभित्र भन्ने नाराको साथसाथै सम्पूर्ण नेपाली चलचत्रिलाई माया गर्नुहुने मेरा आफन्तजन तथा देशविदेशमा रही मलाई प्रेरणा तथा स्नेह प्रदान गरिरहनु भएका सम्पूर्ण दर्शकश्रोताहरुलाई धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनहरुमा समाजसेवा र कलाकारिता क्षेत्रमा सक्रिय रही अझै बढी योगदान पुर्‍याउने कोशिन गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्