यौन शोषणको आरोपमा एसएसपी निलम्बित



१७ माघ २०७६, काठमाडौं

संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।

राणा बिहीबारदेखि निलम्बनमा परेको गृह उच्च स्रोतले पुष्टि गरेको छ। राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।

जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ।

‘पक्राउ पूर्जीका लागि प्रहरी अदालत गइसकेको छ,’ गृहका एक उच्च अधिकारीले भने।

तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस्