
१७ माघ २०७६, काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले चावहिल चोकमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास गरेका छन्।
१ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ अनुमान लागत गरिएको फलामे पुल बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण सक्ने गरी छनोट भएको छ।
करिब २३ मिटर लम्बाई र २ मिटर चौडाइ हुने आकाशे पुललाई आवश्यकता अनुसार अन्य स्थानमा समेत सार्न मिल्ने गरी निर्माण गरिने छ। ठेकेदारसँग सम्झौता भईसकेकोले पुल २०७७ असार अन्तिम सम्ममा सम्पन्न गर्नुपर्ने वडा नं. ७ का वडाध्यक्ष शुद्द डंगोलले परिवर्तन खबरलाई बताए।
आकाशे पुल नहुँदा पैदल यात्रुले निकै जोखिम मोलेर बाटोकाट्नुपर्ने अवस्था भएकोले अघिल्लो वर्षदेखि नै पुल निर्माणको पहल गरिएकोमा अहिले शिलान्यास भएकोमा वडाध्यक्ष डंगोलले खुशी व्यक्त गरे।





