
१७ माघ २०७६, काठमाडौं
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आगामी फागुनमा विवाह गर्ने भएका छन् । उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको उनका नजिकका एक साथीले बताए । उनका अनुसार प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।
विवाहको विषयमा प्रियंका र आयुष्मानले भने आधिकारिक मिति सार्वजनिक गरेका छैनन् । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।
केही दिन अघि नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि प्रियंकाले विवाह गर्न लागेको चर्चा चलेको थियो ।
दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए । प्रियंका र आयुष्मान केही दिनका लागि आज बिदेश उड्दैछन् । फर्किए पछि बिवाहको निम्तो बाड्ने उनीहरुको योजना रहेको बताइएको छ





