‘कांग्रेस ढुलमुले, नेकपा देशभक्त’



१५ माघ २०७६, काठमाडौं

सत्तारूढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस ढुलमुले र सम्झौतापरस्त पार्टी भएको आरोप लगाएको छ।

बुधबार (आज) बाट शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भए पनि आफ्नो ढुलमुले सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण यसले आर्थिक सामाजिक रूपान्तरणको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख छ।

‘संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन नेपाली कांग्रेससँग आवश्यकता अनुसार सहकार्य गर्नु पर्दछ। तर त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना र भण्डाफोर गर्ने कुरालाई बिर्सनु हुँदैन।’ अध्यक्षद्वयको प्रतिवेदनमा भनिएको छ।

देशमा रहेका साना क्षेत्रीय पार्टी र साना वामपन्थी पार्टीहरूसँग आलोचना सहकार्यको र एकताको नीति अनुसार उनीहरूलाई आर्थिक सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लागाउनुपर्ने दुई अध्यक्षको प्रस्ताव छ।

राजनीतिक प्रतिवेदनमा नेकपाले आफूलाई भने देशभक्त पार्टीको संज्ञा दिएको छ। ‘आज नेपाली समाजको राजनीतिक र सामाजिक रूपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरूमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आम देशभक्त र श्रमजीवी नेपाली जनताको आशा र भरोसाको केन्द्र हो।’ प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्