आयो खुसीको खबरः हङकङले बनायो कोरोना भाइरस विरुद्धको खोप



१५ माघ २०७६, काठमाडौं

कारोना भाइरसको खोप आविष्कार भएको हङकङका अनुसन्धानकर्ताहरुले बताएका छन्। यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाई छ।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोकले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। १ सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु समेत लागि परेका छन्।

युनिभर्सिटी अफ हङकङका प्राध्यापक युनले भन्छन्, हामीले खोप त उत्पादन गरिसक्यौँ, तर जनावरमा परीक्षण गर्न लामो समय लाग्नेछ,’

जनावरमा परीक्षण गर्न महिनौँ र त्यसपश्चात् मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताईएको छ। चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस १ दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ। जसबाट कम्तीमा ४ हजार मानिस बिरामी परिसकेका छन्।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन्। ४ हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका बताईएको छ। कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि वुहान शहरलगायत अन्य केही शहरमा भ्रमण यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको संक्रमण भएपश्चात् अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ। चिनियाँ नयाँवर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो।

यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । भाइरस फैलिएपश्चात् त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार ३ दिन पर सारिएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्