‘यती होल्डिङ्ससँग हाम्रो मितेरी साइनोजस्तो व्याख्या गरियो’



१५ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्स कम्पनीसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मितेरी साइनोजस्तो गरी व्याख्या हुने गरेको बताएका छन्।

नेकपा केन्द्रीय कमिटी बैठकमा बुधबार सरकारले गरेका काम बचाउ गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘यती होल्डिङ्स मानिलिऔं हाम्रो एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि के हो जस्तो गरेर व्याख्या गरेका छन्।’

उनले व्यापारिक घरानाको प्रतिस्पर्धामा सरकार पर्न नचाहेको पनि दाबी गरे। उनले माओवादीसमेत सामेल रहेको शेरबहादुर देउवा सरकारले प्रक्रिया पुर्‍याएर नै ताहचलको जग्गा यतीलाई लिजमा दिएको पनि बताए।

‘अहिलेको सरकारलाई आरोपित गरिएको छ। सायद माओवादी पनि रहेको शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया पुर्‍याएर लिजमा दिने नीति बनाएरै दिएको हो,’ उनले भने।

उनले तत्कालीन महासचिव मदन भण्डारीले पासाङ ल्हामुलाई पर्वतारोहणमा जानुअघि गरेको विदाइका फोटो राखेर अहिले यती होल्डिङ्ससँग सरकारलाई जोड्ने गरिएको पनि बताए।

‘त्यतिबेलाको फोटो जतिबेला यती एयरलाइन्स स्थापना पनि भएको थिएन अरू थुप्रै कुराहरू उनीहरूको स्थापना नै भएको थिएन,’ उनले भने, ‘सरकारले कुनै गल्ती गरेको छैन। गल्ती गर्नुपर्ने छैन।’

उनले पाथिभरामा केवलकार बनाउन यतीलाई सित्तैमा जग्गा दिएको नयाँ पत्रिकाले लेखेको समाचारको प्रसंगमा सित्तैमा कसैलाई जग्गा नदिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्