आस्था राउत प्रकरणमा प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : सांसद कोमल वली



१४ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल वलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन् ।

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् । “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद वलीले भनिन्, “गैरकानुनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका सांसद बलराम बाँस्कोटाले वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ? भन्ने प्रश्न गरे । सोही पार्टीका सांसद कमलाकुमारी वलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गरिन् ।

राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसद्मा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाए ।

नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेस धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्टयाइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्