आत्मरक्षा तालिम सबैको लागि आवश्यकः सदस्य सचिव सिलवाल



१३ माघ २०७६, काठमाडौं

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पूर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औंल्याएका छन्।

नेपाल सेल्फ डिफेन्स् संघको आयोजनामा संचालन भएको दोश्रो ‘अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स् सम्मेलन’ समापन कार्यक्रमको प्रमुख अथितिको रुपमा रहेका सचिव सिलवालले यस्तो बताएका हुन्।

यस्तै सचिव सिलवालले सेल्फ डिफेन्स्ले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्नुपर्ने बताए। सेल्फ डिफेन्स्को कला प्रदर्शनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैँलाई मजबुत बनाउनेमा विश्वास दिलाएको जिकिर समेत गरे।

दशरथ रंगशाला कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आएका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स् एशोसिएसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टर Stanislaw Majchrzak ले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफू हर्षित र कृतज्ञ रहेको बताए।

समापन सत्रकै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स् संघलाई अन्तर्राष्ट्रिय आवद्धतासमेत प्रदान गरेका संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए।

तस्वीरमा विभिन्न जिल्लाहरुबाट प्रशिक्षणमा सहभागी प्रशिक्षकहरु

यस्तै उनले कार्यक्रममा नेपालका अध्यक्ष डीबी रानापाललाई मानार्थ सेल्फ डिफेन्स् तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स् पाँचौं डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरे।

त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स् चौंथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिएका छन्।

विभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स् प्रशिक्षकको सहभागिता रहेको उक्त कार्यक्रममा ग्राण्ड मास्टरले विभिन्न तहको प्रमाण पत्र प्रदान गरे। कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी भिन्न व्यक्तिहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा संघले सम्मान समेत गरेको छ।

गत ८ माघबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा काठमाडौं, पोखरा तथा तनहुँका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन्। कार्यक्रमको औचारिक समापन आज भएपनि जनकपुरमा मंगलबार र बुधबार तालिम संचालन गरिने संघले जनाएको छ।

यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्