अमेरिकी राजदूतावासमा रकेट हमला



१३ माघ २०७६, काठमाडौं

इराकको बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण भएको छ।

अति सुरक्षित मानिने दूतावास भएको स्थल ग्रिनजोनमा आइतबार (हिजो) राति रकेट आक्रमण भएको जनाइएको छ।

ग्रिन जोनमा पाँचवटा रकेट आक्रमण गरिएकोमा तीनवटा रकेट दूतावासमा ठोक्किएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

आक्रमणबाट मानवीय क्षति भएको विवरण भने छैन। यससँगै अमेरिकी दूतावासमा एकै महिनामा तेस्रो हमला हो। इराकी कामचलाउ प्रधानमन्त्री अदेल अब्दुल महदीले विज्ञप्ति जारी गर्दै यस घटनालाई आक्रोशको संज्ञा दिएका छन्।

साथै यस्तो घटनाले इराकलाई युद्ध मैदानमा बदल्नसक्ने चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले भने आफ्नो दूतावासको रक्षा गर्न इराकलाई आग्रह गरेको छ।

‘हामी इराकी सरकारलाई आग्रह गर्छौं कि, उसले हाम्रो कुटनीतिक सुविधा पूरा गरी आफ्नो दायित्व पूरा गरोस्।’ अमेरिकाविरुद्ध प्रदर्शन गर्दैआएका इरानी मिलिसियाले भने आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएका छन्।

इराकको बग्दादमा यसअघि पनि रकेट हमला भएको थियो। ती हमलामा इरानी पक्षको संलग्नता भएको बताइएको थियो।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्