पूर्वाधारमा सडकलाई विशेष जोड दिएका छौं : वडाध्यक्ष विजय तामाङ



१२ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय तमाङ साविक विष्णु गविस वडा नं. ९ मा वि.सं. २०३० जेठ ५ गते जन्मिएका हुन् । आफ्नो अध्ययन पञ्चकन्या माविबाट शुरु गरेका उनले एसएलसी भने बूढानीलकण्ठ स्कूलबाट पूरा गरेको बताए ।

सानैबाट निकै जागरुक उनी २०५१ सालबाट राजनीतिमा होमिएका हुन् । तत्कालिन नेकपा एमालेका स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीबाट प्रेरणा पाएका उनलाई ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने पार्टीको मुख्य एजेण्डाले पार्टीप्रति लाग्न प्रेरित गरायो । नेपाल कम्युनिष्ट पार्टीले जनता र देश विकासको लागि योगदान पुर्‍याउँछ भन्ने लागेरै आफू कम्युनिष्ट भएको वडाध्यक्ष तामाङ बताउँछन् ।

युथफोर्स काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी समाल्दै २०६१ सालमा विष्णु गाविस वडा नं. ९ को नेकपा एमालेबाट वडा कमिटी अध्यक्ष भएका उनले ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा विष्णु पाथुका बुथ ईन्चार्ज, दोश्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ का वुथमा निरीक्षण गर्ने मौका प्राप्त गरेको बताए । २०७१ सालमा नागरिक मञ्चको संयोजक, ०७२ सालको विनाशकारी भूकम्पमा वडावासीलाई विपद् आईपर्दा राहत वितरण गरेको समेत उनले सुनाए । २०७४ सालको स्थानीय निर्वाचनबाट वडाध्यक्ष तामाङ बूनपा ५ मा निर्वाचित भएका हुन् ।

निर्वाचनताका वडावासी समक्ष आफू र पार्टीले घोषणा पत्र अनुसार प्रतिबद्धता जनाएका कामहरु ६० प्रतिशत पुरा गरिसकेका छन् । घोषणा पत्र अनुसार टोलटोलमा सडक ढलान भएका छन्, डाँडा गाउँ र टुसालमा खानेपानी समस्याको समाधान भएको बताउँदै प्रत्येक घरमा पानी सहितको धारा जडान गरिएको समेत बताए । वडाध्यक्ष विजय तमाङ भन्छन्, ‘दुलाल टोल, थार्थोक टोलमा गत वर्ष खानेपानीको ट्याङ्की वितरण गरिएको र यो आर्थिक वर्षमा ट्याङ्की निर्माण गरी प्रत्येक घरमा पानी सहितका धारा वितरण गर्ने तयारी गरिएको छ । ठकुरी र देउला टोलमा खानेपानी समस्या रहेकोकोले त्यसलाई छिट्टै समाधान गर्ने प्रतिवद्धता जनाएका छौं ।’

बूढानीलकण्ठका सबै वडा मध्ये क्षेत्रफलका हिसावमा वडा नं. ५ नगरको सबैभन्दा ठुलो वडा हो । उनले भने, ‘अन्य वडामा जस्तो विकास निर्माणका काम गर्न सहज नहुने र बजेट अभावका कारण विकास निर्माणका योजना पुरा गर्न असहज छ । वडा नं ५ मा सबैभन्दा धेरै सडक निर्माणमा जोड दिएको छु ।’

नगरको पहिलो शहरी स्वास्थ्य केन्द्र
बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा नगरकै पहिलो सहरी स्थास्थ्य केन्द्र स्थापना गर्न सफल भएको बताउँदै उनले भने वडाभित्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गरेको बताए ।

शैक्षिक पाटो
पञ्चकन्या मावि, बालविकास आधारभूत विद्यालय र डालेगी माध्यमिक विद्यालय शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले चार÷चार लाख रकम विनियोजन गरी अनाथ, पिछडिएका, दलित र जनजातीको पढाईमा समस्या नआओस् भन्ने उद्देश्यले आफू अघि बढिरहेको वडाध्यक्ष लामाले बताए ।

आईतबारे पार्क निर्माणमा चासो
काठमाडौं भ्यालीबाट नजिक रहेको आईतबारे पार्क निर्माणको लागि बूढानीलकण्ठ नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको बताउँदै डिपिआर समेत तयार गरेको जानकारी गराए । उनले भने, ‘काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पार्क निर्माणको लागि एक करोड बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । आईतबारे पार्क नजिकै एउटा तामाङ सग्राहलय निर्माणको लागि महानगर प्रमुख शाक्यले आवश्यक बजेट सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए ।

सार्वजनिक जग्गा संरक्षण
रक्षामन्त्री ईश्वर पोखरेलले होमस्टेको उद्घाटन गरेको जानकारी गराउँदै वडाध्यक्ष तमाङले बूढानीलकण्ठमा रहेको रमणीय स्थान डाँडागाउँमा होमस्टे संचालन गरिदै आएको बताए । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिदैं आफैंमा एउटा फरक पहिचान बोकेको डाँडागाउँमा छरिएर रहेको सार्वजनिक जग्गा संरक्षण गरी एकिकृत रुपमा होमस्टे संचालन गर्ने आगामी योजना रहेको जानकारी गराए ।

भावी योजना
बूढानीलकण्ठ नगरपालिका वडा नं १, ३, ५ लगायत बूढानीलकण्ठको उत्तरी भेगलाई नै आवश्यक रहेको घाटलाई व्यवस्थित गर्न आवश्यक पहल गर्ने र विष्णुमति घाट पुनः निर्माण गर्ने प्रतिवद्धता जनाए । विकास निर्माणका कामलाई थप सुधार गर्ने र दीर्घकालिन योजना बनाउने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्