थुलुङ दुधकोशी गाउँपालिकाका सम्पूर्ण वडाहरु जोडिए सडक सञ्जालसँग



१२ माघ २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका सम्पूर्ण वडाहरु सडक सञ्जालसँग जोडिएका छन्।

गाउँपालिकाको वडा नं. ६ मुक्ली र वडा नं. ५ जुबुको बर्खुघाटस्थित दुधकोशी नदीमा ह्यूमपाइप राखिएपछि गाउँपालिकाका ९ वटै वडाहरु यातायातको सिधा सञ्जालसँग जोडिएका हुन्।

स्थानीय सरकारको १८ लाख बजेटमा १६ वटा ह्यमपाइप खरिद गरी राखिएपछि जुबु, लोखिमलगायतका अन्य ठाउँमा पनि सवारी साधन सजिलैसँग जाने भएको हो। ह्यूमपाइपको शनिबार (हिजो) जुबु ४ स्थित जनकल्याण उच्च माविको प्राङ्गणमा गाउँपालिका अध्यक्ष असिम राईले रिवन काटेर उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई उद्घाटन् तथा सम्बोधन गर्दै अध्यक्ष राईले अस्थायी रुपमै भएपनि हरेक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्न सफल भएको बताए। ह्यूमपाइप हिउँदका लागि मात्र भएकाले दिगो समाधानका लागि आफ्नै कार्यकालमा बर्खुघाटमा मोटरेबल पुल बन्ने समेत उनले दावी गरे।

ह्यूमपाइप राखिएपछि दुधकोशी नदीमा सवारी साधनहरु नदी पार गर्दै। तस्वीर सौजन्यः भुपालसिंह राई

यस्तै अध्यक्ष राईले आफूले विकासमा पक्षपात नगरेको जिकिर गरे। “जाती, पार्टी, भूगोल र क्षेत्रको आधारमा विकासमा विभेद छैन। समृद्ध गाउँपालिकाको लागि स्थानीय सरकार र जनता मिलेर होमिन आवश्यक छ।” अध्यक्ष राईले भने।

गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिएसँगै गाउँपालिकावासीहरु हर्षित भएका छन्। यसअघि गाउँपालिकाका केन्द्र तथा सदरमुकाम सल्लेरीसम्म पुग्नको लागि आधाभन्दा बढी बाटो हिँड्नुपर्ने बाध्यता थियो।

प्रतिक्रिया दिनुहोस्