भन्सार पनि एकद्वार



१२ माघ २०७६, काठमाडौं

लगानी सहजताका लागि हाल कार्यान्वयनमा रहेको एकद्वार प्रणालीजस्तै भन्सार जाँचपासको प्रक्रियामा पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारी अगाडि बढेको हो ।

‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ नाम दिइएको यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्नसक्ने छन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायहरूले समेत प्राप्त गर्नसक्ने छन् । फरकफरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट यो नयाँ प्रणालीले व्यापारीलाई निकै सहयोग पुग्ने विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । यसले व्यावसायिक लागत कम गराई आपूर्ति हुने वस्तुको मूल्य घटाउन सहयोग पु-याउने छ, उनले भने । दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने योजनाअनुसार विभागले अहिले नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन एकाइ गठन गरेको छ ।

भन्सार जाँचपास प्रक्रियालाई पूर्णतः कागजमुक्त (पेपरलेस) बनाउने योजनाअन्तर्गत यो प्रणाली कार्यान्वयनको काम भइरहेको विभागका उपमहानिर्देशक तथा यो आयोजनाका संयोजक श्यामप्रसाद भण्डारीले जानकारी दिएनुभयो । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने उनले जानकारी दिए ।

करिब एक अर्ब रुपियाँ लागत रहने यो प्रणाली लागू गर्न गत जुनमै दुबईको वेब फोन्टेन गु्रपसँग विभागले सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अबको डेढ वर्षभित्र यो प्रणाली कार्यान्वयनमा आइसक्नुपर्ने छ । हाल यसको आफ्नै छुट्टै वेबसाइट तयार भइसकेको छ त्यसलाई विभिन्न निकायले प्रयोग गर्नसक्ने गरी रूपरेखा तयार भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्