विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल



११ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पार्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो , “विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ”, उहाँले भन्नुभयो, “विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।”

समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उहाँको भनाइ थियो । “हामीले नेपालमा जे उपलब्धि हासिल गर्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन”, अध्यक्ष दाहालले भन्नुभयो, “विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।”

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उहाँको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पुर्याउने उहाँको विश्वास थियो । अध्यक्ष दाहालले नेकपाको इतिहास, कार्यदिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताउनुभयो ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताउनुभयो । जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उहाँले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई व्यापक विश्लेषण गरिएको बताउनुभयो ।

पुस्तकका सम्पादक उपाध्यायले नेकपाको ७० वर्षे इतिहासलाई पुस्तकमा समेटिएको बताउनुभयो । अर्का सम्पादक तिमिल्सिनाले नेकपाको ऐतिहासिक दस्तावेजलाई सङ्कलन गरेर नेता कार्यकर्तालाई पार्टी कार्यदिशाका बारेमा जानकारी होस् भने पुस्तक तयार गरिएको बताउनुभयो ।

नेकपाको पहिलो पर्चादेखि एमाले–माओवादी एकतासम्म
पुस्तकमा नेकपाको स्थापनादेखि एकीकृतको अवस्था, कम्युनिष्ट आन्दोलनको विभाजनपछि विभिन्न समूहहुँदै पूर्वएमाले र पूर्वमाओवादीको धाराको विकासका ऐतिहासिक निर्णय र त्यसको दस्तावेजीकरण एवं पार्टी एकता प्रक्रियापछि नेकपाले गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

मुख्यतः चार खण्डमा रहेको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फैजी ‘कू’ पछि नेकपाले जनताका नाममा गरेको अपिललगायत विषय समेटिएको छ ।

दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले)को गठन, मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजका मुल अंश समावेश गरिएको छ । तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१औँ शताब्दीमा जनवादको विकास, १२ बुँदे समझदारी, शान्ति सम्झौता, हेटौँडा महाधिवेदनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशालगायत दस्तावेजन समेटिएको छ ।

यसैगरी चौथो खण्डमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीका राजनीतिक प्रतिवेदनलगायत विषय समावेश गरिएको छ । नेकपाको समाजवादउन्मुख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको इतिहास बुझ्न पुस्तकले सहयोग पुर्याउने सम्पादक तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्