मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास



१० माघ २०७६, काठमाडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास गर्नुभएको छ ।

क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ र वडा नं २ मालिङ जोड्ने उक्त मोटरेबल पुल प्रदेश सरकारको रु सात करोड १० लाखको लगानीमा निर्माण हुन लागेको हो । सो अवसरमा मुख्यमन्त्री गुरुङले पुल र सडक मात्रै जोडेर आर्थिक विकास र समृद्धि नहुने बताउँदै यसका लागि गाउँगाउँमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेशभित्र गरिब घरधुरी पहिचान गरी सबै नागरिकको जीवन उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढ्ने तयारी गरेको छ भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता मायानाथ अधिकारीले पुल निर्माणपश्चात् यहाँका स्थानीयवासीको जीवनमा धेरै परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । उक्त पुल आगामी २०७८ साल पुस १८ अर्थात् २ वर्षभित्र सम्पन्न गर्ने गरी भौतिक पूर्वाधार कार्यालय लमजुङसँग निर्माण कम्पनी हिम सगरमाथा जेभीले सम्झौता गरेको छ ।

निर्माण कम्पनीका अध्यक्ष शतिश पराजुलीका अनुसार ७० मिटर लामो र ६ मिटर चौडाइको पुल निर्माण हुनेछ । पुल निर्माण भएपछि मालिङ, घाम्राङलगायत स्थानीयवासीलाई सहज हुने क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्