‘२३ पुष’ सँग तरंगित प्रधानमन्त्री



१० माघ २०७६, काठमाडौं

प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ‘२३ पुष’सँग तरंगित हुँदै आएका छन्।

गत २३ पुषमा ९ सदस्यीय नेकपा सचिवालयका सदस्यहरुमध्ये बहुमतका सदस्यहरु भैंसेपाटीस्थित नेता वामदेव गौतम निवासमा भेला भए।

जहाँ, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालसँगै नेता वामदेव गौतम पनि थिए।

उक्त सचिवालयका बहुमतका सदस्यहरुको बैठकबाट प्रधानमन्त्री ओली झस्किँदै आएका छन्।

यसरी सचिवालयका बहुमतका सदस्यहरु भेला भएपछि विशेषगरीः प्रधानमन्त्री/पार्टी अध्यक्ष केपी शर्मा ओली अझैसम्म तरंगित बनिरहेका छन्।

प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँगको हरेक भेटमा ‘भैंसेपाटी बैठक’को बारेमा आफैँले कुरा उठाउने गरेका छन्।

प्रधानमन्त्रीले ‘भैंसेपाटी बैठक’बारे आफू निकटका नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल तथा सोधपुछ गर्दै आएका छन्।

यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार (आज) नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग पौने ४ घण्टा कुराकानी गरे।

आज पनि प्रधानमन्त्रीले आफूसँगको भेटमा ‘भैंसेपाटी बैठक’को बारेमा थप जान्न खोजेको नेता नेपालले बताएका छन्।

“उहाँले ‘भैंसेपाटी बैठक’को उद्देश्य र एजेण्डाबारे जान्न खोज्नुभएको थियो।’ नेता खनालले भनेका छन्, ‘वामदेव जी’ले चिया खान बोलाउनुभएको हो। खासै केही पनि भएन, भनें।’

त्यसो त प्रधानमन्त्रीले उक्त बैठकबारे आफूविरुद्ध मोर्चाबन्दी भएको भन्दै असन्तुष्ट पोख्दै आएका छन्।

उक्त विषयमा प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि सोधका थिए। ओलीको जवाफमा श्रेष्ठले पार्टीको भविष्यबारे छलफल भयो भनेर भनेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि ओलीले आफूविरुद्ध मोर्चाबन्दी भएको भनी असन्तुष्ट व्यक्त गरेका थिए।

बहुमतको ‘भैंसेपाटी बैठक’बाट तरंगित बनेका प्रधानमन्त्रीसँग कार्यकारी अध्यक्ष प्रचण्डले सभामुखबारे दह्रो अडान राखेपछि ओली थप तरंगित भएका कतिपय नेता तथा विश्लेषकहरुले बताउँदै आएको छन्।

जबकि, ओली आफूनिकटका सुवास नेम्वाङलाई सभामुखमा देख्न चाहन्थे।

‘झम्सीखेल समिकरण’

कतिपय विश्लेषकहरुले ओलीको ‘भैंसेपाटी बैठक’बारेको गहिरो चासो र शीर्ष नेताहरुसँगको भेटघाटलाई समिकरण भत्काउने प्रयासको रुपमा बुझेका छन्।

“प्रधानमन्त्री ओली समिकरण भत्काउने वा बनाउने गर्नुमा सिपालु छन्।” वाम विश्लेषक श्याम श्रेष्ठले हामीसँग भनेका छन्, ‘कसलाई आफूतिर तान्ने र कसलाई उतातिर हुत्याउने? त्यहीअनुसार उनी कदम चाल्न सक्छन्।’

त्यसो त प्रधानमन्त्री ओलीले यसअघि पनि ‘झम्सीखेल समिकरण’ भत्काएका थिए।

गत १० माघ विसं २०७५ मा ओली विदेश भ्रमणमा रहेका बेला सचिवालयका बहुमतका सदस्यहरुले गरेका गोप्य बैठकबाट प्रधानमन्त्री ओली यसैगरी असन्तुष्ट बनेका थिए।

पछिल्लो राजनीतिक बृतमा देखिएको परिघटनाले झनै यो हुनसक्छ, भनेर अड्कल लाउन सकिन्छ। आजै मात्रै पनि नेकपा (पूर्व माओवादी) बाट सभामुखको उम्मेदवार बनेका नेकपा नेता अग्नी प्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट परेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्