हेग लान्छु भन्दै धम्की दिने लेनिन विष्टको कार्यक्रममा प्रचण्ड प्रमुख अथिति



१० माघ २०७६, काठमाडौं

लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेना नेपालले आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अथितिका रुपमा उपस्थित हुने भएका छन्।

यद्यपि, विष्टले प्रचण्डलाई पटक पटक अन्तर्राष्ट्रिय फौजदारी अदालत (हेग) लैजाने धम्की दिइरहन्छन्। शुक्रबार (आज) दिउँसो साढे १ बजे ललितपुरमा आयोजना हुने पूर्व बाललडाकूको जीवनयापनबारे अन्तरसंवाद कार्यक्रममा प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुनलगायत नेताहरु सहभागी हुने भएका हुन्।

‘सरकारले पूर्व बाललडाकूहरुलाई हेपिरहेको र उनीहरूको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको परिप्रेक्षमा हामीले सत्तारूढ दलका अध्यक्ष प्रचण्डलाई नै बोलाएर अन्तरक्रिया गर्न लागेका हौं।’ विष्टले भने।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले भने विष्टले आयोजना गरेको कार्यक्रममा प्रचण्ड सहभागी हुने पुष्टि गरेका छन्। ‘आज पाटनढोकामा पूर्व बालसैन्यको जीवनयापनबारे हुने अन्तरसंवादमा अध्यक्षज्यू जाने कार्यक्रम छ।’ उनले भने।

१३ वर्ष अगाडि आजकै दिन (१० माघमा) अनमिनको रोहबरमा लडाकू शिविरबाट बाल सेनालाई औपचारिक रूपमा विदाई गरिएको थियो। त्यतिबेला उमेरका कारण अयोग्य भएर शिविर छोडेका तत्कालीन बाल लडाकूहरुको विष्टको नेतृत्वमा संगठन बनाएर हकहितका लागि लडिरहेका छन्।

बाल लडाकूलाई बेवास्ता गरेको भन्दै विष्टले प्रचण्डलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेग लैजाने धम्की दिइरहेका हुन्छन्। विष्टले नेदरल्यान्डसस्थित हेग पुगेर अन्तर्राष्ट्रिय फौजदारी अदालत परिसरमा खिचिएको फोटो समेत सार्वजनिक गरेका थिए।

अहिले तिनै विष्टले प्रमुख अतिथिका रूपमा बोलाउनु र प्रचण्ड सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्