पर्यटनमन्त्रीसँग नेकपा नेताको चर्काचर्की : पाशुपत क्षेत्रको सबै फूलपाती पसल व्यवस्थित गर्नुपर्ने माग



Yogesh Bhattarai

०९ माघ २०७६, काठमाडौं

पशुपति क्षेत्र परिसरमा पशुपति क्षेत्र विकास कोषको स्वीकृतिमा संचालित १६५ फूलपाती पसल व्यवस्थापनको विषयमा डा. राजन भट्टराईको नेतृत्वमा ध्यानाकर्षण गराउन गएको टोलीबिच नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईकै कार्यकक्षमा चर्काचर्की परेको छ ।

आज विहान ११ बजे मन्त्री कार्यालय सिंह दरबारमा ध्यानाकर्षण गराउन गएका नेकपाका नेताहरुको टोलीसँग पशुपति क्षेत्र विकास कोषका गतिविधिबारे जानकारी गराउँदै कोषका पदाधिकारीहरुले स्थानीयलाई आतंकीत पारी भोलिबाट पशुपति मन्दिर अगाडि संचालित फूलपाती पसलमा डोजर लगाउन माईकिङ्ग गरेपछि कोष र स्थानीय व्यवसायीबिच विवाद बढेको छ ।

विवाद समाधान गर्न गएका नेताहरुलाई पर्यटनमन्त्रीले पूर्वमन्त्री आनन्द पोखरेलको पालामा जम्मा ६४ ओटा फूल र पूजा सामग्री पसल मात्र स्वीकृति दिएकोले बाँकी पसलहरु हटाएरै छाड्ने बताएपछि नेकपा नेता निर्मल कुइकेलले १६५ पसलहरु नै तत्कालिन समयमा पशुपति क्षेत्र विकास कोषको स्वीकृतिमा संचालन भएकोले स्थानान्तरण गर्दा सबैलाई व्यवसाय गर्ने वातावरण बनाउन अनुरोध गरेका थिए ।

सधै सालिन रुपमा देखिने मन्त्री भट्टराईले अहिले स्थायी सरकार आएको र बल मिच्याई गर्नेहरु सबैलाई कानुनी प्रक्रिया अनुसार डोजर लगाउने बताएपछि नेता कुईकेलले पशुपति क्षेत्रमा डोजर चलाएर देखाउनुस् त्यसको परिणाम तपाईले थेग्न नसक्ने बनाउँछु भन्दै चुनौती दिएपछि टोलीको नेतृत्व गरिरहेका डा. राजन भट्टराईले विवाद नगरौं मन्त्रीज्यूले साथीहरुको कुरा गभ्भीर रुपमा लिनुपर्छ । साथीहरुको कुरा जाहेज छ भन्दै वातावरणलाई सहज तुल्याएका थिए ।

नेकपा नेताहरुको दवावपछि मन्त्री भट्टराईले तत्काल फूल ब्यवसायी र पूजा सामग्री पसलहरुको विवरण सहित कागजात लिएर मन्त्री कार्यालय आउन सदस्य सचिव र निर्देशकलाई सचिवालय मार्फत निर्देशन दिए ।

छलफलमा डा. राजन भट्टराई, निर्मल कुईकेल, निर्मल देउला, जलदराज बैद्य, बिनोद रिमाल, रमेश सिंह डंगोल, बिनोद शाही, कृष्णमान श्रेष्ठ, अधिवक्ता उमेश कुईकेल लगायत नेकपा स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्