सासंद पौडेलद्वारा उपसभामुख बन्ने प्रस्ताव ‘अस्वीकार’



०७ माघ २०७६, काठमाडौं

सभामुख पाएको सत्तारुढ नेकपा बाहेकका अन्य ठूला दलहरुबीच उपसभामुख बन्ने प्रतिस्पर्धा चलिरहँदा राष्ट्रिय जनमोर्चा (राजमो) की सांसद दुर्गा पौडेलले भने नेकपाको उपसभामुख बन्ने प्रस्ताव अस्वीकार गरेकी छिन्।

प्युठानबाट निर्वाचित राजमोकी प्रतिनिधि सभा सदस्य पौडेललाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले उपसभामुख बन्नका लागि प्रस्ताव गरेका थिए।

“अध्यक्ष प्रचण्ड आफैँले नै सांसद पौडेललाई उपसभामुखका लागि प्रस्ताव गर्नुभएको थियो।” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, ‘तर, उहाँले राजमोबाट एकजना मात्र सांसद भएको भन्दै उपसभामुखको जिम्मेवारी निर्वाह गर्न आफू असमर्थ रहेको बताउनुभयो।’

यसअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाको चर्चा चुलिएको बेला नेकपा अध्यक्ष प्रचण्डले राजमोका अध्यक्ष चित्रबहादुर केसीलाई भेटेर राजमोकी प्रतिनिधि सभा सदस्य पौडेललाई उपसभामुख बनाइदिन आग्रह गरेका थिए।

तर, केसीले पार्टीलाई उपसभामुख अवसर भए पनि संसदमा राजमोबाट एकैजना मात्रै सांसद भएकोले प्रचण्डको प्रस्ताव मान्न तयार भएका थिएनन्।

केसीसँगको कुराकानीपछि अध्यक्ष प्रचण्डले सांसद पौडेललाई नै फोन गरेर उपसभामुख बनिदिन प्रस्ताव गरेका थिए। आफू नै सभामुख बनेपछि संसदमा पार्टीको धारणा कसलाई राख्ने भन्दै आफू उपसभामुख नबन्ने उनले बताएकी थिइन्।

“म नै उपसभामुख बनेपछि पार्टीको धारणा संसदमा कसलाई राख्ने?” उनले भनेकी छिन्, ‘संसदमा पार्टीको धारणा राख्नुपर्ने हुन्छ। उपसभामुख बनेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

नेपालमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्