बूढानीलकण्ठमा २० हजार लिटर घरेलु मदिरा नष्ट  : १० जना नियन्त्रणमा



०६ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकामा २० हजार लिटर मदिरा नष्ट गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित संयुक्त बसपार्क नजिक कामीटारमा तयारी अवस्थामा रहेको ५ हजार र कच्चापदार्थ १५ हजार गरी २० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको हो । व्यवसायिक रुपमा मदिरा उत्पादन गर्ने संचालक पत्ता नलागेका कारण १० मदिरा उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत एक वर्षदेखि अबैध तथा व्यवसायिक रुपमा २० वटा टहरामा उत्पादित घरेलु मदिरा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा ५० जना प्रहरी टोलीले नष्ट गरेको हो ।

महानगरीय प्रहरी बृत महाराजगञ्जका प्रहरी नायब उपरिक्षक उमेश लम्सालले घरेलु मदिरा उत्पादन नियन्त्रण गर्न समाजमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । मदिरा उत्पादन र विक्री वितरणलाई सरकारले एउटा अभियानको रुपमा कारबाही गर्न आवश्यक रहेको उनको भनाई थियो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले घरेलु मदिरा उत्पादनले समाजमा विभिन्न खालका नराम्रा गतिविधि बढेको धारणा व्यक्त गर्दै त्यस किसिमका व्यवसायलाई बन्द गर्न आवश्यक रहेको बताए । घरेलु मदिरा उत्पादन बन्द गर्न मदिरा व्यवसायमा संलग्नलाई अन्य सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा अध्यक्ष खड्काले जोड दिए ।

स्थानीय देवी बहादुर लिम्बुका अनुसार व्यवसायिक रुपमा बंगुर पाल्दै आएको टहरामा एक वर्ष अगाडीबाट ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गरिँदै आएको छ । त्यसैगरी छिमेकी प्रमिला राईले विगतमा सामान्य रुपमा संचालन गरेको घरेलु मदिरा ठुलो तथा व्यवसायिक रुपमा संचालन गरेको करिव ४ महिना भएको बताईन् । अर्का एक स्थानीय थप्छन्, ‘ठुलो परिमाणमा घरेलु मदिरा उत्पादन गर्दा छिमेकमा फोहोर तथा गन्धले असर गरेको छ, यसलाई बन्दै गर्नु पर्छ ।’ मदिरा उत्पादकहरुले साँझ बिहान पारेर होटल तथा अन्य स्थानबाट कच्चा पदार्थ ल्याउने गरेको स्थानीयले बताए ।

उत्पादित मदिरामा होटलबाट खेर गएका अन्न, बंगुरको आन्द्राभुडी, कवाडी जुता–चप्पल, फोहोर कपडा तथा होटलबाट निस्किने फोहोरमैला लगायतका स्वास्थ्यलाई नकरात्मक असर गर्ने पदार्थ मिसाईने गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्