पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित तीनै जनालाई निर्दोष ठहर



०६ माघ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई चितवन जिल्ला अदालतले निर्दोष रहेको भन्दै सफाइ दिएको छ ।

पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएका थिए ।

दुवै पक्षको कानुन व्यवसायीको बहसपछि भदौं ९ मा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो । रिहा भए पनि जिल्ला अदालतले विदेश जान अनुमति लिनुपर्ने, पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्