‘राजसंस्थालाई सजिलै फाल्यौं, पितृसत्ता फाल्न गाह्रो छ’



०६ माघ २०७६, काठमाडौं

सोमबार (आज) मात्रै राजीनामा दिएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मुलुकमा पितृसत्ता एकदमै बलियो रहेको बताएकी छिन्।

राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभामुख तुम्बाहाङ्ले मुलुकमा पितृसत्ता बलियो रहेको र यसलाई फाल्न बाँकी नै रहेको बताएकी हुन्।

“नेपालमा पितृसत्ता एकदमै बलियो छ। राजसंस्थालाई सजिलै फाल्यौं। तर, पितृसत्ता फाल्न बाँकी छ।” उनले भनिन्। ‘राजसंस्था सजिलै फालिए पनि पितृसत्ता भने फाल्न गाह्रो रहेछ।’

यस्तै उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभालाई नेतृत्वबिहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताएकी छिन्। उनले संविधानले नै प्रतिनिधि सभालाई नेतृत्वबिहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी हुन्।
♣ नेकपा अध्यक्षद्वयको छलफल सकियो, राजीनामा दिँदै तुम्बाहाङ्फे
♣ उपसभामुख तुम्बाहाङ्फेले दिइन् पदबाट राजीनामा
अब मन्त्री बन्नुहुन्छ, भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा उनले अहिलेसम्म कुनै सहमति नभएको बताइन्। उपसभामुख तुम्बाहाङ्फेलाई नेकपा सचिवालयको गत २६ पुषको बैठकले नै पदबाट राजीनामा दिन आग्रह गरेको थियो।

तर, तुम्बाहाङ्फेले सभामुखको उम्मेदवारको चयनपछि मात्रै आफूले राजीनामा दिने बताउँदै आएकी थिइन्। आइतबार (हिजो) बसेको नेकपा सचिवालयको बैठकले नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा नेता अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुख तुम्बाहाङ्फेले आज राजीनामा दिएकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्