आफ्ना सदस्यलाई नेकपाले भन्योः ‘कसैलाई तँ नभन्नु, सँगै बसेर खानु’



०६ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ।

सोमबार (आज) जारी ११ बुँदे आचार संहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के–के गर्ने भनेर उल्लेख छ।

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि देशैभर सर्कुलर गरिएको छ।

संहिताको दुई नम्बर बुँदामा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेला–होचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ।’ आचार संहितामा भनिएको छ।

आचार संहितामा बेला बेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनुपर्ने समेत उल्लेख छ। ‘बेला बेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ।’ नेकपाले जारी गरेको आचार संहितामा भनिएको छ।

उक्त आचारसंहिता लागू गराउन सबै तहका समितिलाई अनुरोध गरिएको छ।

  

प्रतिक्रिया दिनुहोस्