बेल्जियमका राजकुमारी अस्त्रिद काठमाडौं आइपुगिन, राज्यमन्त्रीद्वारा स्वागत



०५ माघ २०७६, काठमाडौं

बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद एक साता भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

नेपाल बसाइँका क्रममा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजकुमारीे कैलाली, नवलपरासी र चितवन पनि पुग्ने पनि मन्त्रालयले जनाएको छ । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यस्तै उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने छिन् । नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते फर्कनेछिन् ।

प्रतिक्रिया दिनुहोस्