सोलुखुम्बुको केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो



०४ माघ २०७६, काठमाडौं

सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ ।

कार्यक्रममा सहभागी हुन सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट त्यहाँ पुगेको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि भीडभाडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो।

सोही क्रममा अश्रु ग्याससँगै प्रहरीले चलाएको गोली एकजनालाई लागेको स्थानीयवासीहरुले बताएका छन्। तर, प्रहरीले भने स्थानीयवासीहरुले आफूहरुमाथि आरोप मात्रै लगाउन खोजेको बताएका छन्।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङ्लावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको आह्वान गरेका थिए।
♥ सोलुखुम्बुमा झडप, आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजानी
झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले जनाएको छ। बन्द आह्वान गरेका तिङ्लावासीहरुले सदरमुकामबाट त्यहाँ आएको टोलीको १६ वटा मोटरसाइकल र एउटा जीपमा समेत आगजनी गरेको प्रहरीको जनाएको छ।

तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सब-स्टेशनमार्फत् जिल्लालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो।

आज सोलुखुम्बुको एक प्रमुख पर्यटकीय क्षेत्र पत्तालेमा संघीय सांसद हेमकुमार राई [सुरवीर] ले विद्युतको उद्घाटन गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्