स्थानीय तहलाई राजपाको ह्वीप



०४ माघ २०७६, काठमाडौं

राजनीतिक दलहरुले संसदमा आफ्ना सांसदहरुलाई मतदान गर्दा ह्वीप (अत्यावश्यक निर्देशन) जारी गर्ने गर्छन्।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्नका लागि ह्वीप जारी गरेको छ। ह्वीप प्रदेश सांसदका लागि मात्र नभएर गाउँपालिका तथा नगरपालिकाका प्रमुख/उपप्रमुखलाई पनि लागू हुने बताइएको छ।

राजपाले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न पार्टीका मतदातालाई ह्वीप जारी गरेको हो। राजपाले प्रदेश नं. २ का प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षका लागि ह्वीप जारी गरेको हो।

शनिबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले दुई पार्टीबीचको सहमति अनुरुप मतदान गर्न राष्ट्रिय सभामा मतदाता हुने पार्टीका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखलाई ह्वीप जारी गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजपा र नेकपाबीच प्रदेश नं. २ मा ४ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा २/२ सिट बाँडेर तालमेल भएको थियो।

दुई पार्टीबीच भएको सहमति अनुरुप राजपाले अन्य समूहबाट मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहबाट शेखर कुमार सिंहलाई र नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्