सोलुखुम्बुमा झडप, आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजानी



०४ माघ २०७६, काठमाडौं

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लाबाट यथाशक्य ग्रामीण विद्युतीकरण गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेका तिङ्लावासी र विद्युत उद्घाटनको लागि सदरमुकाम सल्लेरीबाट गएको टोलीबीच झडप भएको छ।

शनिबार (आज) दिउँसो पत्तालेस्थित विद्युत उद्घाटन स्थलमा झडप हुँदा सदमुकामबाट त्यहाँ गएको टोलीको आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आगजानी समेत भएको हो। लाममाने सबस्टेशनमा राखिएका टोलीको मोटरसाइकलसँगै डबल क्याप बोलेरोमा पनि आगजानी भएको प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। झडपका क्रमममा आन्दोलनकारीले ढुङ्गामुढा समेत प्रहार गरेका थिए। अहिले घटनास्थलमा जनपथ तथा सशस्त्र प्रहरी खटिएका छन्।

झडपका क्रममा जलाइएका दर्जन बढी मोटरसाइकलहरुः

आज पर्यटकीय क्षेत्र पत्तालेमा संघीय सांसद हेमकुमार राई (सुरवीर) ले विद्युतको उद्घाटन गर्ने कार्यक्रम थियो। कार्यक्रमलाई सम्बधोन गर्न त्यहाँ पुगेका सांसद राईसँगै प्रदेश सभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सम्बोधन नगर्दै तिङ्लावासी र त्यहाँ पुगेको टोलीबीच झडप शुरु भएको थियो।

घटनाबारे विस्तृत जानकारी दिन साँझ ५ः३० बजे पत्रकार सम्मेलन आयोजना गरिने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्