द्धन्द्धकालीन मुद्दा टुंग्याउन नेकपा–कांग्रेसबीच दुई बुँदे सहमति



०४ माघ २०७६, काठमाडौं

द्धन्द्धकालीन मुद्दा टुंग्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दुई बुँदे समझदारी भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो।

दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको कांग्रेस नेता रमेश लेखकले बताए। ‘शान्ति प्रक्रियाका बारेमा छलफल भएको छ। कानुनहरूलाई अगाडि बढाउने सहमति भएको छ।’ उनले भने, ‘आज सिफारिस समिति बैठक बस्दैछ। यसले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसेर नाम पारित गर्ने सहमति भएको छ।’

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो।

उक्त समितिको बैठक अहिले बसिरहेको स्रोतले बताएको छ। उक्त समितिले दुवै आयोगमा पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसेर नाम अनुमोदन गरिने दुवै दलबीच सहमति भएको बैठकमा सहभागी एक नेताले जनाए।

द्वन्द्वकालीन मुद्दा किनारा लगाउनेबारे दुवै दलले सदनमा एकमत भएर अगाडि बढ्ने सहमति भएको नेता लेखकको भनाई थियो। दुवै आयोगका कानुनका मस्यौदा लिएर दुवै दलका प्रतिनिधि सातवटै प्रदेशमा गएर पीडितका प्रतिनिधिसँग छलफल गरेका थिए।

पीडितका सुझाव समेटेर विधेयक पारित गर्ने सत्तारुढ र प्रतिपक्षबीच सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस्