कागेश्वरी मनोहरा साक्षर नगर घोषणा



०४ माघ २०७६, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतले कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगर घोषणा गरेका हुन् ।

साक्षर नगर घोषणा तथा एसइइ सम्मान कार्यक्रमको सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा भएकोमा नगरवासी सम्पुर्णलाई बधाई दिए । नगर विकास निर्माणका काममा आवश्यक सहयोग गर्न आफू प्रतिवद्ध रहको बताउँदै नेता नेपालले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक निर्माण लगायतमा नगरलाई आवश्यक अनुसार सक्दो सहयोग गर्न म तयार छु ।’

अन्य नगरको तुलनामा कागेश्वरी मनोहरा नगरपालकिाले शिक्षा र स्वास्थ्यमा विषेश जोड दिएको बताउँदै अन्य विकास निर्माणका काममा समेत महत्वपूर्ण भूमिका खेलेको नेता नेपालले बताए । गुणस्तरीय नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा अझ बढि सक्रिय रहेर कार्य गर्नुपर्ने कुरामा जोड दिन आवश्यक रहेको समेत नेता नेपालको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगरका घोषणा गर्दै प्रदेशको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र व्यवस्थित गर्न मन्त्रालयले पहल गरेको बताए । सामाजिक विकासमन्त्री दुलालले  प्रदेशलाई बालमैत्री बनाउन प्रदेश सरकारले पहल गरेको बताउँदै चालु आर्थिक बर्ष भित्रै बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरेको समेत जानकारी गराए ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले साक्षर नगर घोषणाका लागि भएका सबै सूचकहरु पुरा गरी नगरलाई साक्षर नगर घोषणा गर्न सफल भएको बताए ।

नगरप्रमुख थापाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गर्दै दिर्घकालिन विकास निर्माणका लागि संघीय, प्रदेश, स्थानीय सरकार र आवश्यक्ता अनुसार राजनीतिक दल तथा सरोकारवाला निकायसँग सहकार्यमा अघि बढेको जानकारी गराए ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणाको अवसरमा प्रदेश सरकारको तर्फबाट नगर प्रमुख कृष्णहरि थापालाई कदर पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै २०७५ सालको एसइइमा कागेश्वरी नगरभित्रका सर्बोत्कृष्ट अंक ल्याउने छात्र, छात्रा र विद्यालयलाई समेत पुरस्कार वितरण र सम्मान गरिएको थियो ।

सुरक्षामा थप सहयोग पुगोस भन्ने उदेश्यले नगरको सहयोगमा थलीमा रहेको प्रहरी चौकीलाई एउटा मोटरसाईकल हस्तान्तरण समेत गरिएको थियो । त्यसैगरी दक्षिण एशियाली खेलकुद (साग) मा कागेश्वरी नगरबाट सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्