दाहाललाई ओलीले भने, ‘तपाईँले पार्टीबाट सभामुखबारे निर्णय गराउनु सक्नुभएन, अब म संसदीय दलबाट गराउँछु’



०४ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले संसदीय दलबाट सभामुखबारे निर्णय लिने बताएका छन्।

चार दिनपछि दुई अध्यक्षबीच बिहीबार र शुक्रबार लगातार भेट भएपनि केही सहमति जुट्न सकेको छैन। ‘तपाईँले पार्टीबाट सभामुखबारे निर्णय गराउन सक्नुभएन, अब म संसदीय दलबाट गराउँछु’ ओलीले दाहाललाई भनेका थिए।

श्रोतका अनुसार ओलीले कुन सन्दर्भमा यसो भनेका हुन्, खुलेको छैन। ओली तथा उनी निकट नेताहरुले सुवासचन्द नेम्वाङलाई नै सभामुख बनाउने अडान दोहोर्‍याइरहेका छन्।

‘प्रधानमन्त्रीको चाहना अहिले पनि नेम्वाङजीलाई नै सभामुख बनाउने भन्ने हो। उहाँलाई मैले उत्साहित नै पाएको छु।’ प्रधानमन्त्री निकट एक मन्त्रीले भनेका छन्, ‘प्रधानमन्त्रीले आफूलाई सहज बनाउन विश्वासिलो व्यक्तिलाई सभामुख बनाउन खोज्नुभएको हो।’

यस्तै प्रधानमन्त्रीले पूर्व माओवादीलाई नै सभामुख दिनु परे पनि आफूले रोजेको व्यक्ति सभामुख हुनुपर्ने अडान राखेका छन्। यता प्रचण्डले आफू निकट स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका थिए।

सापकोटाको नाममा प्रधानमन्त्री सकारात्मक नभएपछि विकल्पमा अन्य नेतालाई पनि अघि सारेको स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्डले अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेललाई पनि अघि सारेका छन्।

गत शनिबार प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उप सभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्