विनयलाई जमुनाले भनेकी थिइन्, ‘एक्लै होइन, परिवारै सँगसँगै मरौं!’



०४ माघ २०७६, काठमाडौ

त्रिशूली नदीमा हाम फालेर देह त्याग गर्नुअघि जमुना लामिछानेले ऋण व्यवस्थापन गर्न नसकेर जीवनदेखि थाकेका आफ्नो श्रीमान् विनय लामिछानेलाई परिवारै मर्ने सल्लाह दिएकी थिइन्।

घर छोड्नुअघि विनयले जमुनासँग भनेका थिए, ‘म ऋणमा डुबिसकें, अब मर्छु।’ जवाफमा जमुनाले भनेकी थिइन् ‘एक्लै होइन, परिवार नै सँगसँगै मरौं।’ यो संवादको केही समयपछि उनीहरु आफ्नो दुवै छोरालाई लिएर धादिङतर्फ लागेका थिए।

घर छोड्नुअघि विनयले लेखेको तीन पाना लामो ‘सूसाइड नोट’ मा ऋण तिर्नुपर्ने लामो फेहरिस्तसहित आफू मृत्यु रोज्न बाध्य भएको खुलाएका छन्।
♦ विनयको सूसाइड नोटः ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सक्दिन, अब बाँच्नुको केही अर्थ छैन’
♦ त्रिशूलीमा हाम फालेका दम्पतिको सानो छोराको पास्नी आज थियो !
गएको वर्षदेखि व्यापार निकै खस्केको, सापटी लिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि सापटी र ऋण तिर्न नसक्ने अवस्था आएकाले श्रीमती र छोराहरूसहित परिवारले नै मृत्युवरण गर्ने निर्णय गरेको उनले सूसाइड नोटमा उल्लेख गरेका छन्।

धादिङको बेनीघाटस्थित सिउरेनीटार जोड्ने पुलमुनिबाट ६ महिनाका छोरा रिजनलाई श्रीमतीले र दुईवर्षे विजनलाई विनय आफैँले काखमा लिएर नडुबुन्जेल त्रिशूलीमा हेलिएका थिए।

संयोगले विनयलाई जलयात्रा गर्ने समूहले जीवितै उद्धार गर्‍यो। तर जमुना दुई छोरासहित बेपत्ता भइन्। केहीबेरपछि जमुनाको शव भने फेला परेको प्रहरीले जनायो। तर, दुई छोराहरु भने अझैसम्म बेपत्ता नै छन्।

प्रतिक्रिया दिनुहोस्