बाँकी २८ महिनाभित्र कागेश्वरीको मुहार फेर्छौं : नगरप्रमुख थापा



०३ माघ २०७६, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाले स्थानीय निर्वाचन भएको ३२ महिनामा नगरभित्रका विकास निर्माणले निकै फड्को मारेको अनुभूति भएको बताउँदै ‘स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा’ भन्ने नगरको मुख्य नारालाई बाँकी २८ महिना भित्रै कार्यान्वयन गरी चाँडै नगरको मुहार फेर्ने बताए ।

साक्षर नगर घोषणा तथा एसइइ सम्मान कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख थापाले शिक्षा, स्वास्थ्य, खेलकूद र सामाजिक सुरक्षा लगायतमा समेत विशेष ध्यान दिंदै कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगर घोषणा गर्न पाउँदा खुशी ब्यक्त गरे ।

सरकारले दिएको संचार खर्चले मात्र स्वमंसेवीकालाई नगर भित्रका विभिन्न स्थानमा सेवा दिन समस्या भएको बताउँदै नगरले मासिक रु १ हजार दिने घोषणा गरे ।

कागेश्वरी मनोहरा नगरपालिकाले २०७४ असारमा बसेको पहिलो नगरसभाबाटै एसइइमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयल र विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेको बताउँदै आफू निर्वाचित भएपछि तेस्रो पटक पुरस्कार वितरण गरेको बताए ।

उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयल तथा विद्यार्थीलाई सामुदायिक र नीजि विद्यालयका एक–एक जनालाई नगद रु १ लाख दिने र उत्कृष्ट नतिजा प्राप्त विद्यालयलाई भौतिक सुधार गर्न रु २ लाख रकम दिने निर्णय गर्ने पहिलो नगरे समेत कागेश्वरी भएको दावी गरे ।

नगर भित्रका विद्यालयको स्तरोन्ततिका लागि सामुदायिक विद्यालयमा शिशुदेखि पाँच कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई दैनिक खाजाको व्यवस्था गरेको बताए । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु टाढाबाट आउने हुनाले हिड्न समस्या भएका कारण नगर भित्रका सामुदायिक विद्यालयमा नगरपालिकाले स्कूल बसको व्यवस्था गर्ने समेत बताए । नगर प्रमुख थापाले भने, ‘हाल सम्म ३ वटा विद्यालयलाई सहयोग गरिसकेका छौं, आगामी दिनमा नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा बसको व्यवस्था गर्छौ ।’

निःशुल्क खाजा, स्कूल बस, उत्कृष्टलाई पुरस्कार लगायतका सहयोगले विद्यार्थीको पढाईमा थप उत्साह मिल्ने र असल मानिस बन्न सहयोग पुर्याउछ भन्ने उदेश्यले नगरले यस किसिमका सुविधा दिएको उनको दावी थियो ।

नगरपालिकामा छिट्टै नगर अस्पताल बन्न पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा रु १ करोड र अस्पताललाई आवश्यक सामग्रीको लागि समेत थप रु १ करोड सहयोग प्राप्त भएकोले नगर अस्पताल निर्माण प्रकृयामा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्