सभामुखका लागि निर्णायक छलफल गर्न अध्यक्षद्वय बालुवाटारमा, ओली लचक देखिए



०३ माघ २०७६, काठमाडौं

सभामुख चयनको निर्णायक छलफलका लागि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा केपी शर्मा ओली बालुवाटारमा भेटेका छन्।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड केहीबेर अगाडि मात्रै बालुवाटार प्रवेश गरेका छन्। ५ दिनको संवादहीनता तोड्दै प्रधानमन्त्री ओली र प्रचण्डले बिहीबार छलफल गरेका थिए।

उक्त छलफल सकारात्मक भएपछि आज निर्णयक छलफल हुन लागेको हो। प्रचण्डले अडान नछोडेपछि ओली लचक हुने संकेत देखिएको स्रोतले जनाएको छ।आजको छलफलले नेकपाभित्र अबको सभामुख को भन्नेमा निर्णय आउन सक्ने सम्भावना छ।

पूर्व माओवादीतर्फबाट सभामुखका लागि चर्चामा रहेका नाममा अग्नि सापकोटा, पम्फा भुषाल, तथा देव गुरुङ छन्। यसबाहेक पनि हरिबोल गजुरेल, जर्नादन शर्मा या टोपबहादुर रायमाझी मध्येबाट पनि सभामुखका रुपमा प्रचण्डले प्रस्ताव गर्न सक्ने स्रोतको भनाइ छ।

पूर्व माओवादीलाई नै सभामुख दिन ओली लचक बनेको खण्डमा नामका विषयमा भने ओलीको पनि रोजाई हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्