यूएई बस दुर्घटनाः एक नेपालीको मृत्यु पुष्टि, दुईको सनाखत हुन बाँकी



०३ माघ २०७६, काठमाडौं

यूएईको आबुधाबीमा बिहीबार राति भएको मिनीबस दुर्घटनामा ३ नेपालीको मृत्यु भएको अनुमान गरिएको छ।

यूएईस्थित श्रम सहचारी भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा १ नेपालीको मृत्यु भइसकेको पुष्टि भएको छ। यस्तै अस्पतालमा रहेका ३ वटा शवमध्ये एक वा दुई वटा नेपालीको हुनसक्ने यूएई प्रहरीको भनाई छ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारीको रहेकी भनी पुष्टि भइसकेको छ। अन्य दुई जना नेपाली हराइरहेका छन्। हराइरहेका नेपालीमध्ये प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिषा मोक्तान तामाङ रहेको बताइएको छ।

यता अबुधाबीको अस्पतालमा ३ वटा शव रहेका छन्। शवको सनाखत नभएको कारण यी ३ जनामध्ये कति जना नेपाली छन् यकिन भएको छैन। यूएई प्रहरीको हवाला दिँदै श्रम सहचारी कार्कीले ३ वटा शवमध्ये दुई शव नेपाली महिलाको हुनसक्ने बताएका छन्।

२५ जना सवार बसमा १७ जना नेपाली महिला रहेका थिए। दुर्घटनामा बस चालक पाकिस्तानी नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइते भएका नेपालीमध्ये १४ जनाको पहिचान खुलिसकेको छ।

यूएईको एमबीएम नामक सरसफाइसम्बन्धी काम गर्ने कम्पनीमा कार्यरत महिलाहरु बोकेको मिनीबस स्थानीय समयानुसार बिहीबार बिहान लरीसँग ठोक्किएको थियो।

तीब्र गतिमा हुँइकिएको मिनीबस लरीमा ठोक्किएपछि बसको अगाडिको भागमा रहेका चालकसहित ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक र एक पाकिस्तानी तथा एक अफ्रिकी मुलकी महिलाको पहिचान खुलिसकेको छ।

–घाइतेको विवरणः

खालिफा सिटीमा रहेको एनएमसी अस्तालमा उपचाररत नेपालीहरुः

माया तामाङ–सिन्धुपाल्चोक

तुलसा थापा–झापा

सरिता थापा–सिन्धुपाल्चोक

सीता सुब्बा–इलाम

पवित्रा तामाङ–झापा

आबुधाबीको मार्फक अस्पतालमा उपचाररत नेपालीहरुः

रिता सिवाकोटी–मकवानपुर पालुङ

कमला नेपाली–चापागाउँ ललितपुर

मुना राना–खुदुनाबारी झापा

सुजला विश्वकर्मा (ठेगाना नखुलेको)

आशा घर्ती–दाङ

निर्मला प्रजा, चितवन (डिस्चार्ज)

अल रहा अस्पतालमा उपचाररत नेपालीहरुः

मिना थिङ–हेटौंडा मकवानपुर

सरिता तामाङ, नुवाकोट (घाइते)

वर्षा विक–धरान सुनसरी

घाइतेहरुको उपचार तथा मृतक नेपाली महिलाहरुको बारेमा बुझ्न र कानुनी प्रक्रिया पूरा गर्न दूतावासका उच्चपदस्थ कर्मचारी अस्पतालमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्