विनयको सूसाइड नोटः ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सक्दिन, अब बाँच्नुको केही अर्थ छैन’



०३ माघ २०७६, काठमाडौं

धादिङको रोराङ गाउँपालिका ३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम फाले।

बिहीबार साँझ काठमाडौं चद्रागिरीका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरुलाई साथैमा लिएर त्रिशुली नदिमा हाम फालेका हुन्।

नदीमा हाम फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गरिएको छ। श्रीमतीको भने मृत्यु भएको छ। उनका दुई नाबालक छोराहरु बेपत्ता छन्। बेपत्ता बालकको खोजी भइरहेको बताइएको छ।

त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्।

प्रहरीको अनुसन्धान अनुसार विनय परिवारसहित आदमघाटस्थित ससुराली जान भनेर काठमाडौंबाट हिँडेका थिए। बिजिनेस घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीले यसअघि नै प्रारम्भिक अनुमान गरेको थियो।

घरमा सूसाइड नोटः

विनयको घरमा सूसाइड नोट फेला परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार विनयको घरबाट सूसाइड नोट फेला परेको हो।

सूसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको बताउँदै व्यापार सफल नभएपछि आफू एकदमै तनावमा रहेको उल्लेख गरेका छन्।

विनय स्थानीय सरकारी स्कुलमा पढाउने गर्दथे। ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन।’ सूसाइड नोटमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्