निमित्तका भरमा चल्दैछन् छ वटा विश्वविद्यालय



 

विगत पाँच महिनादेखि मुलुकका छवटा विश्वविद्यालय निमित्तका भरमा चल्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गएको भदौदेखि उपकुलपति पद रिक्त हुँदै आएको छ ।

नेपालको विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपकुलपति नियुक्तिका लागि आवेदन माग गर्ने अभ्यास यसैपटकबाट थालिएको हो । छनोट समितिले आवेदन दिएकामध्येबाट पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि एक महिनाअघि नै तीन, तीन जनाको नाम कुलपति (प्रधानमन्त्री)समक्ष सिफारिस गरिसकेको थियो ।

कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका लागि सिफारिस गरिने व्यक्तिको नाम अझै छनोट हुन सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छनोट समितिका संयोजकसमेत रहेका राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. उषा झाले भने, “सरकारको प्राथमिकतामा अरू काम परेकाले उपकुलपति नियुक्त नभएको हुनसक्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्