बालमन्दिरका बालबालिकाले राष्ट्रपतिसँग मनाए माघे संक्रान्ति : सहभागी मध्येका १६ वर्षे छात्रलाई महिला राष्ट्रपति भएको पत्तो रहेनछ



०१ माघ २०७६, काठमाडौं

माघे संक्रान्तिको विशेष अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा साँस्कृतिक कार्यक्रम सहित ‘बालबालिकासँग  राष्ट्रपति कार्यक्रम’ आयोजना गर्नुभयो ।

बाल मन्दिर नक्सालमा संरक्षित ६ वर्ष माथिका ५३ र सिफल बालगृहबाट ७४ बालबालिकाहरुलाई नेपाली खाना पछि शितल निवास परिसरको भ्रमण गराएकोमा अधिकांश बालबालिकाहरु हर्षित र खुशी देखिन्थे ।

औपचारिक साँस्कृतिक कार्यक्रममा पहिलो सामूहिक नृत्य ‘ची मुसी ची’ नामको गीतमा ३ बालकहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । यसैगरी सतीराम रोकायाले मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गीत गाएका थिए । नेपालको प्रकृति र संस्कृतिको विषय समेटिएको प्रकृति र संस्कृति यी हुन् हाम्रा सम्पतिमा बालबालिकाहरुको सामूहिक नृत्य गरेका थिए भने बालमन्दिर कै गोविन्द सार्कीले ‘रेसम फिरिरि’ धुनमा बाँसुरी बजाएर मन्त्र मुग्ध गराएका थिए । च्याङ्बा हे च्याङ्बा बोलको गीतमा बालमन्दिरका ६ बालिकाहरुले उत्कृष्ट नृत्य गरेका थिए ।

कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका युवा महिलाहरुको ३ विशेष नृत्य प्रस्तुत गरेका थिए । जसमा झुम्रा नृत्य र सर्या नृत्यले निकै रौनक थपेको थियो भने अर्को तामाङ नृत्य समेत निकै रोमाञ्चक रहेको थियो । देवीको आराधनामा आधारित सर्या नृत्य धेरै बालबालिकाहरुले निकै रुचिका साथ अवलोकन गरेका थिए ।

औपरिचारिक सम्बोधनमा राष्ट्रपति भण्डारीले, “आफू निर्वाचित भएको अघिल्ला २ वर्ष पूर्व परम्परा जस्तै राजनीतिक पार्टीका नेताहरुसँग बसेर माघे संक्रान्ति मनाउने गरेको भएपनि घर–घरमा बसेर परिवारसँग मनाउने चाडलाई थप प्रभावकारी बनाउन माघे संक्रान्तिमा बालबालिकासँग मनाउने सोचले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।”

सहभागीको प्रस्तुती रुचीपूर्वक हेर्नुभएका राष्ट्रपतिले छोटो औपचारिक सम्बोधनमा समेत माघे संक्रान्तिको महत्वबारे बोल्दै राज्यले अझै बालबालिकाको क्षेत्रमा लगानी थप्नुपर्ने धारणा राख्नुभयो । बालमन्दिरका साना बालबालिकासँग बसेर सामूहिक फोटो खिचाउनु भएका भण्डारीले पद्मकन्या क्याम्पसका अग्ला विद्यार्थीको पालो आएपछि कुर्सीबाट उठेर एउटै लाईनमा उभिएर फोटो खिच्नुभयो । क्याम्पसका विद्यार्थीसँग गफिदै फोटो खिच्दा टाँसिएको भन्दै पटक–पटक सुरक्षाकर्मीले तानेको देखिन्थ्यो तर राष्ट्रपतिमा त्यसको कुनै असर देखिदैनथ्यो ।

कार्यक्रममा राष्ट्रपति भण्डारी, महिला बालबालिका जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, संसदको महिला तथा बालबालिका समितिका सांसदहरु, बाल साहित्यकार, सम्बन्धित क्षेत्रका सरोकारवालाहरु र केहि संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सहभागी मध्येका १६ वर्षे छात्रलाई महिला राष्ट्रपति भएको पत्तो रहेनछ
राष्ट्रपतिको कार्यालयमा विशेष कार्यक्रममा बस्ने स्थानहरु पहिले नै छुट्टिएका हुन्छन् । संयोगले बालमन्दिरमा संरक्षित सानैमा आमा र भूकम्पमा बुवा गुमाएका  कक्षा ९ मा अध्ययनरत सिन्धुपाल्चोकका १६ वर्षीय रेञ्जेन लामा मेरो छेउमा बसे । पहिलोपल्ट राष्ट्रपति निवास छिरेका उनी सबैजसो कार्यक्रम रोचकताका साथ हेरिरहेका थिए । मैले उनलाई बालमन्दिर र राष्ट्रपति कार्यालयको खाना मध्ये कुन मिठो भनी सोधे, मेरो अनुमान विपरित दुवै मिठो भने । मैले दोहोर्‍याएर प्रश्न गर्दा पनि उनले फेरी दुवै मिठो भने । उनको जवाफले मलाई थप कौतुहलता सिर्जना गर्‍यो । मैले उनलाई पारिवारिक अवस्थाबारे सोधेका प्रश्नमा खुलेर जवाफ दिए । राष्ट्रपतिको नाम सोधे उनले सहि जवाफ दिए । तर पटक–पटकको प्रश्नमा समेत राष्ट्रपति पुरुष मान्छे हो क्या भनीरहे । उनले राष्ट्रपतिको नाम मिलाएपनि लिङ्ग छुट्याउन सकेनन् । राष्ट्रपतिको मन्तब्य पछि उनलाई सोधिएको सोहि प्रश्नमा कम्फ्युज भएछु भन्दै सामान्य जवाफ फर्काए । थप कौतुहलताले नेपालको वर्तमान प्रधानमन्त्रीको नाम के हो भन्ने प्रश्नमा जति प्रयास गर्दा पनि उनले देशको प्रधामन्त्रीको नाम भन्नै सकेनन् ।

कक्षा ८ मै अध्ययनरत सिन्धुपाल्चोकका १४ वर्षे बसन्त नेपालको शीतल निवास प्रवेश भने दोश्रो पटक थियो । ‘पहिले चाहिँ किन आएको नि’ भन्ने प्रश्नमा राष्ट्रपतिको छोरीको विवाहमा आएको बताए । ‘विवाहको खाना र आजको खानामा केहि फरक थियो कि’ भन्ने प्रश्नमा उनले पनि उस्तै रहेको बताए । सानो कदका बसन्तलाई प्रधानमन्त्रीको नाम सोध्दा नअड्कि भने बिगत १० वर्षदेखि बालमन्दिर मै हुर्किएका उनलाई आफ्नो बुवाआमा बारे भने कुनै जानकारी नै रहेनछ ।

(फोटो सौजन्य : सुनिल चुडामणि बज्राचार्य)

प्रतिक्रिया दिनुहोस्