प्रेस रिभ्यू : दोषी यकिन गर्न प्रहरी कै अगाडि हस्तमैथुनको ‘डेमो’, दाउ हेर्दै ओली–प्रचण्ड



आज माघ १ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादका समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, नदीको दोहन, बसमा अश्लील हर्कत गर्ने पक्राउ देखिका समाचारहरु छापिएका छन् ।

कान्तिपुर दैनिकमा यसरी खुल्यो अश्लील हर्कत शीर्षकमा समाचार छ ।सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । यस प्रकरणमा भारतमा ७ महिना बसेर केही साताअघि मात्र चितवन आएका रविन रुचाल भनिने रविन सार्कीलाई पक्राउ गरी प्रहरीले सोमबार काठमाडौं ल्याएको हो । उनलाई मंगलबार एसएसपी थापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । उनी महाशाखाकै नियन्त्रणमा छन् । पक्राउ गरे पनि भिडियो खिच्ने र अपलोड गर्ने व्यक्ति एउटै हुन् कि होइनन् भन्ने स्पष्ट हुन् सोमबार रुचाललाई अनुसन्धान अधिकृतकै सामुन्ने ‘हस्तमैथुन डेमो’ गर्न लगाइयो । हस्तमैथुन गर्दा उनको हुलिया र बसको भिडियोमा तालमेल मिल्यो । बसमा वीर्य स्खलन गर्ने व्यक्तिको दायाँ हातको बूढी औंलामा खत र चोरी औंलाको टुप्पोमा भएको खत पनि मेल खायो । दुवै प्रमाणमा एउटै व्यक्तिको हुलिया मिलेपछि प्रहरी नियन्त्रणमा रहेका रुचाल हतोत्साहित भए तर सुरुमा उनले अभियोग स्वीकार गरेनन् । भिडियो अपलोड गर्न खोलेको इमेल ठेगाना, एनसेलको सिमकार्ड, उनका ४ वटा फेसबुक अकाउन्ट र उनले सम्पर्क गर्ने व्यक्तिका विवरणलगायत प्रमाणबारे प्रहरीले प्रस्ट पारेपछि भने उनले अभियोग स्वीकार गरेका छन् । अश्लील भिडियो खिच्ने, सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गर्ने व्यक्ति रुचाल नै भएको दाबी प्रहरीको छ । तर काठमाडौं जिल्ला अदालतमा रुचालले भिडियो अपलोड गरेको तर वीर्य स्खलन गर्ने व्यक्ति आफू नभएको बयान दिएका छन् । अनुसन्धानका लागि म्याद थप्न उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सुरुमै न्यायाधीशले ‘तपाईंले बसमा वीर्य स्खलन गरेको हो रु’ भनेर सोधेका थिए । जवाफमा रुचालले भने, ‘भिडियो मैले खिचेको होइन, अपलोडचाहिँ गरेको हुँ ।’ त्यसपछि सामान्य सोधपुछ गर्दै न्यायाधीशले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । एसएसपी थापाका अनुसार रुचालविरुद्ध साइबर अपराध गरेको कसुरमा अनुसन्धान भइरहेको छ । अपराध पुष्टि भए रुचालविरुद्ध १ लाखसम्म जरिवाना र ५ वर्ष कैद हुन सक्छ ।

पत्रिकामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो समूह छुट्टै रहेको सन्देश दिएको समाचार छ । पार्टी संरचनाको भागबन्डामा बारम्बार सिटौला समूह कता भन्ने प्रश्न उठेपछि उनले सार्वजनिक कार्यक्रममार्फत नै संस्थापन र रामचन्द्र पौडेल समूह कुनैमा पनि नरहेको बताएका हुन् । तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राखेर जीपी कोइराला, लोकतन्त्र संवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा सिटौलाले १३ औं महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको पनि दाबी गरे । ‘देउवातिर पनि होइन, पौडेलतिर पनि होइन । १३ औं महाधिवेशनपछि हामी जहाँ छौं, त्यहीँ छौं । बरु विस्तारित हुँदै गएका छौं,’ कार्यक्रमपछि कान्तिपुरसँग सिटौलाले भने । उनले पार्टीभित्रको बृहत् एकता र १४ औं महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

नयाँ पत्रिका दैनिकमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ । विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ । मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ । विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो । रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ । मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ ।

पत्रिकामा सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको समाचार छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् । तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उपसभामुख तुम्बाहाङफेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतबारबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका थिए । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तुम्बाहाङफेको अडानमा मौन बसेकाले समस्या जटिल बनेको उनीहरूको बुझाइ छ । बानेश्वरको एक होटेलमा आइतबार दिउँसो भएको भेटर्वार्तामा प्रचण्ड र नेपालले सचिवालयको पछिल्लो निर्णय कार्यान्वयनमा देखिएको जटिलतामा केन्द्रित रहेर छलफल गरेका थिए ।

नागरिक दैनिकमा प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको समाचार छ। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। नौ सदस्यीय सचिवालयमा तत्कालीन एमाले खेमाबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्र खेमाबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। सरकारलाई सहयोग गर्ने र प्रधानमन्त्रीलाई समेत काम गर्न सहज हुने वातावरण तयार गर्न तत्कालीन एमालेकै तर्फबाट सभामुख उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका ओली, उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल र महासचिव पौडेल छन्। पार्टी एकता र शक्ति सन्तुलनका हिसाबले उचित हुने दाबी गर्दै कार्यकारी अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका नेतामध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। खनाल र नेपाल तथा पार्टी प्रस्तावित उपाध्यक्ष गौतम भने दुई अध्यक्षले नै उम्मेदवारको टुंगो लगाउनुपर्ने भन्दै तटस्थ बसेका छन्। सचिवालयका अर्का सदस्य एवं गृहमन्त्रीसमेत रहेका थापा मौन छन्।

अन्नपूर्ण पोष्ट दैनिकमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको समाचार छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्। नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ।

दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन। संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ। तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन्। दुवै अध्यक्ष दुई दिनयता एक–अर्का अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन्। ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ।’ नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन्। दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर अन्नपूर्णसँग भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ।’ सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन्। सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ। अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन्।

प्रतिक्रिया दिनुहोस्