अष्ट्रेलियामा ५ हजार उँटलाई हेलिकोप्टरबाट गोली हानी मारियो



२९ पुष २०७६, काठमाडौं

दक्षिणी अष्ट्रेलियामा ५ हजार उँटलाई गोली हानेर मारिएको छ।

खडेरी र पानीको समस्यासँग जुधिरहेका उक्त क्षेत्रका मानिसहरुका उँटले धेरै पानी खाइदिएपछि हेलिकोप्टरबाट गोली हानेर मारिएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

५ दिन लगाएर सूटरहरुले हेलिकोप्टरबाट गोली हानेर उँट मारेका हुन्। खडेरी प्रभावित दक्षिणी अष्ट्रेलिया क्षेत्रका रैथाने उँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जनाएका छन्।

दक्षिणी अष्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका उँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिनेजस्ता गतिविधि गरेको बताए।

उँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए। झुन्ड छुट्याउने काम आइतबार सकिएको थियो।

‘पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौं। तर, यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन्। हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ।’ रिचर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

रिचार्डले उँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए। पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन्।

गत सेप्टेम्बरदेखि अष्ट्रेलियामा फैलिएको डढेलोका कारण खाना र पानीको अभाव भएपछि उँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमा छिर्न थालेका थिए। कतिपय उँटहरु पानीका मुहानमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो।

उँट अष्ट्रेलियाको रैथाने प्रजाति हैन। यो त्यहाँका लागि बाह्य प्रजाति हो। सन् १८४० मा अष्ट्रेलियामा पहिलो पटक भारतबाट उँट लगिएको थियो। अष्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो।-एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्